Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

भोजपुरका स्थानीयको रोजाइमा आयुर्वेदिक उपचार

भोजपुरका स्थानीयको रोजाइमा आयुर्वेदिक उपचार

  • 267
    SHARES
  • भोजपुरका स्थानीयको रोजाइमा आयुर्वेदिक उपचार

    भोजपुर । भोजपुरका स्थानीयको रोजाइमा आयुर्वेदिक उपचार पद्धति पर्न थालेको छ । कम खर्चमा रोग निको हुने भएपछि स्थानीय यस्तो उपचार पद्धतिमा आकर्षित भएका हुन।

    images

    आयुर्वेदिक औषधीले अन्य औषधीभन्दा स्वास्थ्यमा कम असर पर्ने विषयमा जानकारी पाएसँगै स्थानीयमा विश्वास बढेको देखिन्छ । दैनिकरूपमा एक सय जनासम्म उपचार गराउन आउने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरको भनाइ छ ।

    आयुर्वेद स्वास्थ्य केन्द्रको तथ्यांकअनुसार गत आर्थिक वर्षमा आठ हजार चार सय १५ बिरामीले सेवा लिएका छन । उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नीका समस्या र नशासम्बन्धीका रोगी रहेका जनाइएको छ ।

    बिरामीको सुविधालाई ध्यानमा राख्दै स्वास्थ्य उपकरण विस्तारमा समेत ध्यान दिएको कार्यालयले जनाएको छ । तर दक्ष चिकित्सकको कमीले सेवा प्रवाहमा भने समस्या हुने गरेको छ ।

    उपचारमा आउने बिरामीलाई विभिन्न आयुर्वेदिक औषधीको प्रयोगसँगै उपकरणको सहायतले सेकताप गर्दै रोगअनुसारको उपचार पद्धति अपनाइएको कार्यालयको भनाइ छ ।केन्द्रले अहिले पनि पञ्चकर्म, पूर्वकर्म सेवा सञ्चालन गरिरहेको भएपनि चिकित्सक अभावमा सेवा प्रवाह गर्न केही कठिनाइ रहेको कार्यालयले जनाएको छ ।

    मानिसहरू खास गरेर एन्टिवायोटिक औषधी सेवन गरेर रोगलाई चाँडो निको बनाउन चाहने भएपनि भोजपुरमा भने आयुर्वेदिक उपचारमा आकर्षित भएका हुन । विभिन्न विधि प्रयोग गरेर स्वास्थ्यकर्मीले सेवा दिन थालेपछि बिरामीको यसतर्फ चासो बढेको देखिन्छ ।

    लामो समयसम्म ठुल्ठूला अस्पतालमा गएर एलोपेथिक विधिबाट उपचार गराउँदा रोग निको नभएको बताउँदै बिरामी उपचारका लागि जिल्ला आयुर्वेद उपचार केन्द्र पुग्ने गरेका छन ।

    स्थानीय केशरबहादुर श्रेष्ठले बाहिरका ठूला अस्पतालमा गएर उपचार गराउँदा निको नभएको रोग आयुवेर्दिक उपचारबाट निको भएको बताए ।

    श्रेष्ठले भने, ‘खासमा हामीले यो उपचार पद्धतिका बारेमा जानकारी नपाउँदा समस्यामा परेका रहेछौँ । मेरो निकै लामो समयबाट ढाडमा समस्या थियो । उपचार गराउन विभिन्न सहरका ठूला अस्पतालमा गएँ तर अहिले यहाँ उपचार गराउन थालेपछि निको हुँदै गएको छ ।’

    केन्द्रमा पञ्चकर्म सेवाअन्तर्गत स्नेहन र स्वेदनलगायत सेवा सञ्चालनमा छ । बाथरोग, हार्डजोनी, अम्लपित्त, पायल्सलगायत रोगको प्रभावकारी विधिबाट उपचार हुने भएकाले सेवाग्राही बढेका छन ।

    आयुर्वेदिक औषधीको महत्वका बारेमा जानकारी हुन थालेपछि आयुर्वेदिक औषधी प्रयोग गर्ने गरेका छन । आयुर्वेदिक औषधीले स्वास्थ्यमा सुधार आएपछि उपचार पद्धतिप्रति विश्वास बढेको स्थानीयवासी पासाङदिकी शेर्पाको भनाइ छ ।

    आयुर्वेदिक औषधीले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको कार्यालयका वैद्य अनिलकुमार मण्डलले बताए । बिरामीको चाप बढे पनि आफ्नो भवन तथा दरबन्दीअनुसारका चिकित्सक तथा कर्मचारी नहुँदा भने सहज सेवा प्रवाहमा कठिनाइ भएको कार्यालयले जनाएको छ ।

    २०५८ देखि जिल्लामा आयुर्वेदिक जडीबुटीद्वारा मिश्रित औषधी तथा चूर्ण सर्वसाधरणलाई वितरण गर्न सुरु गरिएको थियो । भोजपुरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुर, टक्सार औषधालय, दिङ्ला औषधालय र ओख्रे औषधालय शाखा रहेका छन ।

    त्यस्तै अरुण गाउँपालिकाको चम्पे, हतुवागढी घोडेटार, टेम्केमैयुङको अन्नपूर्ण र पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा स्थापना गरिएका नागरिक आरोग्य सेवा केन्द्रबाट स्थानीयले सेवा लिइरहेको कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology