वेबटिभी खबर
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ पटारमा खानेपानी आयोजना निर्माण भएको छ ।
गोर्खा वेल्यफेयर ट्रष्टको सहयोग र स्थानीयवासीको श्रमदानमा पटारमा एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण भएको हो । पटारका बासिन्दासमेत रहेका वडा सदस्य भीमबहादुर तिलिजाले आयोजनाबाट २९ घरधुरीका एक सय ५९ जनसंख्या लाभान्वित भएको बताए ।
‘मिटर जडित निजी धारामार्फत खानेपानी वितरण गरिएको छ’, वडा सदस्य तिलिजाले भने, ‘आँगनकै धारामा नियमित खानेपानी आपूर्ति भएपछि समयको बचत र झन्झट हटेको छ ।’
दुईवटा सार्वजनिक धारा निर्माण गरिएको छ । पटारवासीले यसअघि पुरानो आयोजनाको सार्वजनिक धारामार्फत खानेपानी उपभोग गर्दै आएका थिए । कुल २६ लाख ७४ हजार तीन सय १४ लागत अनुमान गरिएको थियो ।
वेल्फेयरको १७ लाख छ हजार आठ सय ९७ र उपभोक्ताको नौ लाख ६७ हजार चार सय १६ को लागतमा आयोजना निर्माण भएको वेल्फेयर ट्रष्टले जनाएको छ । गत फागुन ६ गते सम्झौता भएको आयोजना यही चैत १० गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
सोमबार आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो । अधिकांश विकास आयोजना ढिलासुस्तीले थलिएको अवस्थामा पटार खानेपानी आयोजना निर्धारित समयभित्रै सम्पन्न भएको अन्नपूर्ण गाउँपालिका-४ का वडाध्यक्ष लोकबहादुर फगामीले जानकारी दिए ।
गोर्खा वेल्फेयर ट्रष्ट र उपभोक्ताको लागत साझेदारीमा अन्नपूर्ण गाउँपालिकामा थप दुईवटा आयोजना निर्माणको अन्तिम चरणमा छन । पटारसहितका तीन आयोजनाबाट एक सय दुई घरका पाँच सय ११ जनसङ्ख्या लाभान्वित हुनेछन् ।
कुल एक करोड ४० लाख १४ हजार नौ सय ३५ को लागतमा निर्माण सुरु भएको आयोजनाबाट उपभोक्ताको घर, विद्यालय र सार्वजनिकस्थलमा एक सय आठवटा निजी धारा जडान गरिने गोर्खा वेल्फेयर ट्रष्टका परियोजना प्रवन्धक बेलबहादुर गुरुङको भनाइ छ ।
‘अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ मा दानाबजार र द्धवारी खानेपानी आयोजना पनि निर्माणको अन्तिम चरणमा छन्’, प्रवन्धक गुरुङले भने, ‘संस्थाले कुल लागतको ६३ देखि ६६ प्रतिशत साझेदारी गरेको छ ।’
कुल ६७ लाख ६७ लागत अनुमान गरिएको दानाबजार खानेपानी आयोजनाबाट निर्माण हुने ५१ धारामार्फत दुई सय ३० जनसङ्ख्या लाभान्वित हुनेछन् । ४६ लाख ४० हजार पाँच सय ५४ लागत अनुमान गरिएको द्धवारी खानेपानी आयोजनामार्फत निर्माण हुने २६ धाराबाट एक सय १२ जनसंख्या लाभान्वित हुने संस्थाले जनाएको छ ।
गोर्खा वेल्फेयर ट्रष्टले अन्नपूर्ण गाउँपालिकाको १० वर्षे खानेपानी सरसफाइ तथा स्वच्छता योजना पनि तयार पारेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।
हाल खानेपानी र सरसफाईको अवस्था, आवश्यकता समेटिएको योजनाका आधारमा खानेपानी तथा सरसफाईको पुहँच विस्तार योजना तथा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष पुनले बताए ।
खानेपानी विभागको मापदण्डअनुसार अन्नपूर्णका शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन २५ वटा थप आयोजना निर्माण गर्नुपर्ने, नौवटा विभिन्न निकायमार्फत निर्माणाधीन रहेका र मौजुदासहित ८९ करोड बजेट आवश्यक पर्ने योजनामा औँल्याइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij