वेबटिभी खबर
बाग्लुङ । बाग्लुङको काठेखोला गाउँपालिका-५ बिहुँको बिहुँपोखरामा प्रशासनिक भवन अधुरै छ । दोस्रो तलाको ढलानपछि पिलर ठड्याइए पनि बाँकी कामले दुईदेखि पूर्णता पाउन सकेको छैन ।
दोस्रो तलासमेत कार्यालय प्रयोजनाका लागि कोठा तयार गर्ने गरी तीन वर्षअघि भवनको निर्माण सुरु गरिएको थियो । बजेट अभावका कारण काम रोकिएपछि भवन जीर्ण बनेको छ ।
वडा कार्यालय आफ्नै बलबुतामा तीन वर्षअघि निर्माण थालेको भवनबाट सबै प्रशासनिक काम त हुन्छ, तर भवन पूरा भएको छैन । ‘वडाकै बजेटबाट भवन निर्माण थालेका हौँ तर, अझै पूरा भएको छैन’, निवर्तमान वडाध्यक्ष शिवप्रसाद कँडेलले भने ।
आर्थिक वर्ष २०७६/७७ देखि भवन निर्माण सुरु भएको हो । वडाको बजेट, गाउँपालिकाको तोकादेशमा प्राप्त बजेट र गण्डकी प्रदेशको स्थानीय पूर्वाधार क्षेत्र विकास कार्यक्रमको सहयोग गरी ८० लाख खर्च भएको छ ।
५५ लाख वडा कार्यालय र स्थानीय पूर्वाधार क्षेत्र विकास कार्यक्रमको २५ लाख अनुदानमा भवन तयार भएको वडासचिव शिवबहादुर थापाले बताए । भुइँतला र पहिलो तलाको काम सकिएको भएपनि दोस्रो तलामाथिको कामका लागि समयमा बजेट नपाउँदा भवन छानोविहीन बनेको छ ।
‘चालु आवको हिउँदे अधिवेशनबाट १० लाख गाउँपालिकाले विनियोजन गरेको छ’, थापाले भने, ‘ढलान गर्न त बजेट नपुग्ला ट्रस हालेरै भएपनि भवनले छानो पाउँछ ।’
भवन निर्माणपूर्व वडा कार्यालय भाडाको घरबाट सञ्चालित थियो । मासिक सात हजार भाडा तिर्दै आएको वडाले भवन बनेपछि भने भाडामा खर्च हुने रकम विकास निर्माणमा खर्चिने गरेको छ ।
गत वैशाखदेखि अधुरै भवनबाट वडा कार्यालयका सेवा प्रवाह हुँदै आएका छन । वडास्तरमा हुने सार्वजनिक कार्यक्रमका लागि प्रशासनिक भवनको सभाहल प्रयोगमा ल्याइने गरेको छ भने पहिलो तलामा रहेका छ कोठामा अध्यक्ष, वडा सदस्य, सचिव र अन्य कर्मचारीको प्रशासनिक कक्ष निर्माण गरिएको छ ।
प्रशासनिक भवनका सबै संरचना तयार हुँदा कर्मचारीलाई आवासीय सुविधा दिन सकिने वडा कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij