Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

नेपालमा वार्षिक २ लाख २० हजार मेट्र्रिक टन नुन खपत

नेपालमा वार्षिक २ लाख २० हजार मेट्र्रिक टन नुन खपत

  • 268
    SHARES
  • नेपालमा वार्षिक २ लाख २० हजार मेट्र्रिक टन नुन खपत

    काठमाडाैं । नेपालीले दैनिक ९.१ ग्राम नुन खाने गरेको देखिएको छ । नेपालमा सन् २०१९ फेब्रुअरीदेखि मेसम्म गरिएको नसर्ने रोगसम्बन्धी जोखिम तत्त्वको सर्वेक्षण (स्टेप्स सर्वेक्षण) ले यस्तो तथ्य देखाएको हो । १५ देखि ६९ वर्षका वयस्कमा आधारित सर्वेक्षणमा ५ हजार ५ सय ९३ जना सहभागी थिए ।

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नुनको दैनिक सेवनलाई पाँच ग्राममा सीमित गर्न आग्रह गरेको छ । डब्लूएचओको सार्वजनिक प्रतिवेदनमा बयस्कलाई प्रतिदिन ३ वा ५ ग्रामभन्दा कम नुन उपभोग गर्न सिफारिस गरिएको हो ।

    सन् २०२५ सम्ममा नुनमा पाइने सोडियमको मात्रा ३० प्रतिशत घटाउने विश्वव्यापी लक्ष्य हासिल गर्ने बाटोमा अग्रसर हुन पनि नेपाललगायतका सदस्य मुलुकलाई भनिएको छ । विश्वव्यापी औसत नुन खपत दैनिक १०.८ ग्राम छ । 

    डब्लूएचओको प्रतिवेदनमा दाबी गरिएअनुसार आवश्यक कदम नचालिए आगामी ७ वर्षमा करिब ७० लाख व्यक्तिको मृत्यु नुनको अत्यधिक प्रयोगले गर्दा हुने रोगबाट हुनेछ । ‘डब्लूएचओको प्रतिवेदनअनुसार नुनको उपयोगलाई कसरी कम गर्ने भन्नेबारे जनताबीच जानुको विकल्प छैन,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. चुमनलाल दास भन्छन्, ‘पछिल्लो तीन दशकमा मुलुकमा नुन सेवनसँग सम्बन्धित उच्च रक्तचाप, स्ट्र्रोक, मुटु र रक्तनलीको रोगलगायतमा अत्यधिक वृद्घि भएको छ ।’ नुनको बढी सेवनले मुटु/रक्तनली/मिर्गौला रोग, अस्टियोस्पोरोसिस, पेटको क्यान्सरलगायतका रोगको जोखिम रहन्छ । पछिल्ला वर्ष नेपालमा नसर्ने रोगको बढ्दो जोखिमका पछाडि नुनको अधिक सेवन नै एउटा कारण रहेको विज्ञको दाबी छ ।

    डब्लूएचओले दैनिक सेवन गरिने नुनको मात्रा तोकिएको सीमाभित्र राखिएको खण्डमा जनस्वास्थ्यमा सकारात्मक परिणाम प्राप्त हुने पनि जनाएको छ ।

    स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखास्थित पोषण शाखाका प्रमुख लीलाविक्रम थापा मुलुकमा नुनको सेवनले जनस्वास्थ्यमा पारेको प्रभावका बारेमा अध्ययन नभएको बताउँछन् । साल्ट ट्र्रेडिङ कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीका अनुसार मुलुकमा बर्सेनि २ लाख २० हजार मेट्र्रिक टन नुन खपत हुन्छ । नेपालीले खाना र पशु, खेतीलगायतमा कति नुन उपयोग गर्छन् भन्ने कुनै आधिकारिक तथ्यांक छैन । पहाडको दाँजोमा मधेशमा बढी नुन खपत हुने गरेको छ ।

    विज्ञहरूका अनुसार नुनमा पाइने खनिज तत्त्व सोडियमको अत्यधिक सेवनले हृदयाघात, स्ट्रोक र अकाल मृत्युको जोखिम बढाउँछ । सोडियमको मुख्य स्रोत नुन (सोडियम क्लोराइड) हो, तर यो सोडियम ग्लुटामेट (अजिनोमोटो) जस्ता अन्य मसलामा पनि पाइन्छ । डब्लूएचओको प्रतिवेदनअनुसार ५ प्रतिशत सदस्य राष्ट्रमा मात्र अनिवार्य र व्यापक सोडियम घटाउने नीति कार्यान्वयनमा छन् र तर बाँकी राष्ट्रमा त्यस्ता नीतिको कार्यान्वयन कमजोर छ ।

    मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलका अनुसार उपलब्ध तथ्यांकहरूले नेपालमा नसर्ने रोगले हुने कुल मृत्युमध्ये करिब ३० प्रतिशत मृत्यु मुटु र रक्तनलीसम्बन्धी रोगबाट भइरहेको देखाएको छ । कान्तिपुर दाैनिकबाट

  • सम्बन्धित विषय:

  • # नुन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij