वेबटिभी खबर
चितवन । स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ । चितवनको भरतपुरमा ‘१७औँ राष्ट्रिय मह दिवस’ अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले सो माग गरेका हुन ।
कार्यक्रममा मौरी विकास कार्यक्रम भण्डाराका वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले गत माघदेखि महको बिक्री हुन नसकेको बताए । उनले बिक्री नभएर नेपालमा अझै एक हजार पाँच सय मेट्रिक टन मह मौज्दात रहेको जानकारी दिए ।
सोही अनुपातमा भारतबाट गुणस्तरहीन मह आयात भएको उनको भनाइ छ । भारतबाट गुणस्तरहीन मह सस्तोमा आयात हुँदा नेपाली मह बिक्रीमा समस्या आएको छ ।
नेपालमा वार्षिक महको खपत आठ हजार मेट्रिक टन हुँदै आएको छ । नेपालबाट आठ मेट्रिक टन मह निर्यातसमेत भएको छ । नेपालमा वार्षिक ३० करोड ३४ लाख बराबरको मह आयात हुँदा १६ करोड ८१ लाखको मह निर्यात भएको सरकारीको तथ्यांकमा उल्लेख छ ।
नेपाल मौरीपालन महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले स्वदेशी महले बजार नपाउँदा किसान समस्यामा परेको बताए । उनले सरकारले नीतिगत पहल नगर्दा नेपाली किसानको मह उत्पादन हुन नसकेको गुनासो गरे ।
अध्यक्ष पौडेलका अनुसार पछिल्लो चार महिनामा दुई सय मेट्रिक टन मह आयात भएको छ । मौरीविज्ञ डा.शिवप्रसाद रिजालले मौरी र महको विषयमा जनचेतना जगाउन आवश्यक रहेको बताए ।
मौरी र पर्यावरण विषयमा कार्यपत्र पेस गरेका रिजालले मौरीले पारिस्थितिक प्रणालीलाई कायम गर्न महत्वपूर्ण भूमिका खेलेको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले महको बजारीकरणका विषयमा स्थानीय तहलाई अधिकार दिएकाले जनप्रतिनिधि सक्रिय भएर लाग्नुपर्ने धारणा राखे ।
मह दिवसका अवसरमा नेपाल मौरीपालक महासंघ चितवनले जिल्ला प्रहरी कार्यालय अगाडि सर्वसाधरणलाई महसमेत खुवाएको थियो ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले किसानको समस्यालाई समाधान गर्नका लागि पहल गर्ने बताए । उनले स्थानीय तहका प्रमुखलाई राखेर समस्याका समाधान खोजिने जानकारी दिए ।
मौरी विकास कार्यक्रम भण्डारा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ चितवन, कृषि ज्ञान केन्द्र र नेपाल मौरीपालन महासंघ चितवनले अन्तरक्रिया र सर्वसाधरणलाई मह खुवाएर मह दिवस मनाएका हुन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij