Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बजेट अभावमा विद्यालय भवन अलपत्र

बजेट अभावमा विद्यालय भवन अलपत्र

  • 329
    SHARES
  • बजेट अभावमा विद्यालय भवन अलपत्र

    नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यबिन्दु–३ मा बजेट अभावले विद्यालय भवन अलपत्र बनेको छ । बह्म प्राथमिक विद्यालयको निर्माणाधीन दुई कोठे पक्की भवन बजेट अभावले अलपत्र बनेको हो ।

    विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर केसीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट बजेट परेर सुरु गरिएको भवन निर्माण बजेट निकासा हुन नसकेपछि निर्माण अधुरो बनेको बताए ।

    उनले भने, ‘यस आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गर्ने गरी हामीले काम गरेका थियौँ । थप बजेट निकासा नभएपछि भवन निर्माण पूरा गर्न सकिएन ।’ जम्मा १८ लाखको योजनामा निर्माणाधीन भवनलाई पूर्णता दिन अझ आठ लाख आवश्यक परेको केसीले बताए ।

    भवनको डिपिसी ढलान तथा तला ढलान गर्दा १० लाख बजेट लागेको उनले बताए । उनले भने, ‘अब भवनको पर्खाल उठाउन, भुई र भित्तामा प्लास्टर गर्ने काम बाँकी छ ।’

    बजेटका लागि वडाअध्यक्ष, नगरपालिकाको शिक्षा शाखा तथा नगरप्रमुखसँग आग्रह गर्दासमेत कुनै सहयोग नभएको उनले बताए । कक्षा ५ सम्म अध्ययन हुने यस विद्यालयमा पर्खालपनि अपुरो रहेको छ ।

    विद्यालयको पर्खाल निर्माणका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाले सहयोग गरिदिएमा विद्यार्थी सुरक्षित तवरले अध्ययन गर्न पाउने उनको भनाइ छ । विद्यालयमा पर्खाल नहुँदा विद्यालयमा पढाइ भइरहेको बेलामा जंगली जनावर तथा पशु चौपाया विद्यालयभित्र पस्ने गरेका प्रधानाध्यापक केसीले बताए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडासदस्य राजु अर्यालले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यस वडामा दिउँसै गैँडालगायतका जंगली जनावरको त्रास रहेको बताए ।

    उनले भने, ‘दुई वर्षअघि दिउँसै विद्यालय नजिक गैँडाको आक्रमणबाट एकजना वृद्धा घाइते हुनुभएको थियो । विद्यालयमा पर्खाल नहुँदा अभिभावक आफ्ना बालबालिकालाई विद्यालय पठाउनसमेत डराउने गर्नुभएको छ ।’

    यस विद्यालयमा बोटे, थारु, दलितलगायत पिछडिएका समुदायका बालबालिकाको बाहुल्यता रहेको अर्यालले बताए । विद्यालयमा विभिन्न संघसंस्थाले सहयोगले गरेर कम्प्युटर, प्रिन्टरलगायतका सामग्री प्राप्त भएकोमा अहिले ती विद्युतीय उपकरणसमेत बिग्रिएका छन् ।

    विद्यालयकी शिक्षिका तारा रानाभाटले भनिन्, ‘विद्यार्थीलाई पढाउँदा बुझाउन भए पनि बिग्रिएका कम्प्युटर तथा प्रिन्टर देखाउने गरेका छौँ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij