वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई सांसद पदमा पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्य पदकम काम गर्न दिन अन्तरिम आदेश दिएको हो ।
बिहीबार थापालाई गण्डकी प्रदेश संसदीय दलकी नेता पियारी थापा र केन्द्रीय महासचिव मनोज भट्टले पादमुक्त गराउँदै प्रदेश संसद सचिवालयमा यसको जानकारी गराएका थिए । सोहीदिन बसेको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले थापा पदमुक्त भएको घाषणा गरेका थिए ।
पदमुक्त भएका थापाले आफूलाई पार्टी र दलको विधानविपरीत पदमुक्त गराएको भन्दै शुक्रबार सर्वोच्चमा रिट पेश गरेका थिए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढाल्न नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित विपक्षी दलले बनाएको गठबन्धनलाई साथ नदिएको भन्दै पार्टीले थापालाई कारबाही गरेको जनाएको छ ।
बिहीबार पदमुक्त भएका उनले बागलुङका जनताले दिएको जनमतविपरीत कांग्रेसलाई सघाउन नसकेको प्रतिक्रिया दिएका थिए । आइतबार पदमा पुनर्वहाली भएसँगै गण्डकीमा जनमोर्चाका तीन सांसद यथावत छन् ।


Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij