वेबटिभी खबर
बाग्लुङ । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकाले गाउँ-गाउँमा पुगेर पूर्ण खोप लगाउनबाट वञ्चित भएका र कुपोषित बालबालिकाको खोजी गरिरहेको छ ।
नगरपालिका स्वास्थ्य शाखाले अहिले गाउँमा गएर स्वास्थ्य आमासमूह गठन गर्ने र बालबालिकालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन थालेको हो । जनचेतनाको कमी तथा अशिक्षाका कारण बालबालिका कुपोषित हुने र पूर्ण खोप नलगाएको पाइएको छ ।
स्वास्थ्य शाखाले स्वास्थ्यकर्मीसहित गाउँमै पुगेर स्वास्थ्य आमासमूहलाई स्वास्थ्य शिक्षा, पूर्ण खोपका बारेमा जानकारी दिने र कुपोषित बच्चाको खोजी गर्न सिकाउनलगायतका कार्य गरिरहेको छ ।
नगरपालिकाले नौवटै वडामा पुगेर खोप लगाउने तथा कुपोषित बच्चाको पहिचान गरिरहेको स्वास्थ्य शाखा प्रमुख केशव थापाले जानकारी दिए । दुर्गम गाउँहरूमा धेरै बालबालिका कुपोषित र पूर्ण खोप नलगाएका भेटिने गरेका छन ।
उनीहरूलाई खोप दिने र कुपोषित बच्चालाई पोषण उपलब्ध गराउने गरेको प्रमुख थापाले बताए । अघिल्लो वर्ष केही वडामा २९ बालबालिका कुपोषित र अहिले १५ मा त्यो समस्या फेला परेको छ ।
‘यस वर्ष वडा नं ४, ६, ३ र १ मा पुगेर कुपोषित र पूर्ण खोप नलगाएका बालबालिका भेट्यौँ, अझै पाँच वटा वडामा पुग्न बाँकी छ, अझै धेरै कुपोषित बालबालिका भेटिने आँकलन गरेका छौँ, १३ जनाले पूर्ण खोप नलगाएको पाइयो, उनीहरूलाई खोप दियौँ’, स्वास्थ्य शाखा प्रमुख थापाले भने, ‘यो समस्या अभिभावक अशिक्षित भएकै कारण उत्पन्न भएको हो, सुरुमा बच्चालाई खोप लगाएर ल्याउँछन्, खोप लगाएपछि दुखेर रुने हुँदा त्यसपछिका चरणका खोप लगाउनै नलगेको पाइयो ।’
बालबालिका कुपोषित हुनबाट रोक्न तथा पूर्ण खोप लगाउन गाउँको टोलटोलमा स्वास्थ्य आमा समूह गठन गर्ने र उनीहरूलाई खोप लगाउने समय, कस्तो बच्चा कुपोषित हो भन्ने छुट्याउने र समयमै स्वास्थ्य संस्थामा लैजानुपर्ने विषयमा प्रशिक्षति गरिरहेको बताइएको छ ।
नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण) ले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले समय समयमा स्वास्थ्यकर्मीलाई नागरिकको स्वास्थ्य समस्या बुझ्न गाउँ-गाउँमा पठाउने गरेको र सोहीअनुसार स्वास्थ्य सेवा प्रभावकारी बनाउनतर्फ लागेको उपप्रमुख कायतले जानकारी दिए ।
उपप्रमुख कायतले भने, ‘नगरपालिका अलिकति पिछडिएको क्षेत्र पनि हो, यहाँका धेरै नागरिकमा जनचेतना बढ्दैछ, स्वास्थ्य र शिक्षाको सहज पहुँच पुग्दैछ, अहिले पनि बिरामी हुँदा अस्पतालभन्दा धाँमीझाँक्री खोज्ने प्रचलन छ, यद्यपि हामी अन्धविश्वासलाई हटाएर नागरिकलाई सचेत बनाउने कार्यमा लागेका छौँ, यहाँको स्वास्थ्यमा केही सुधार आएको महशुस भएको छ, स्वास्थ्य संस्था तथा औषधी व्यवस्थापन लगायतका विषयमा लागेका छौँ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij