वेबटिभी खबर
चितवन । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रयोजनका लागि जारी निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल भएको छ ।
मुख्य निर्वाचन अधिकृत बासु न्यौपानेले आचारसंहिता कडाइका साथ लागू गरिने बताए । ‘कोही कसैबाट उल्लंघन भएमा तत्काल सूचना दिनुहोला । तत्काल कारबाही हुन्छ’, मुख्य निर्वाचन अधिकृत न्यौपानेले भने ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आचारसंहितामा भएको व्यवस्थालाई कोही कसैले पनि हल्कारूपमा लिन नहुने बताए । जिल्ला अधिकारी पौडेलले भने, ‘हरेक राजनीतिक दल तथा उम्मेदवारले आफ्ना गतिविधिबारे प्रशासनलाई नियमित जानकारी दिने र स्वीकृति लिने गर्नुपर्छ ।’
आचारसंहिता पालन गर्नका लागि बनाइने भएपनि उल्लंघन बढी हुने गरेको दलका प्रतिनिधिले गुनासो गरेका छन । यसअघिका निर्वाचनमा आचारसंहिता कार्यान्वयन नभएको जनाउँदै यस पटक कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
नेपाली कांग्रेसका सचिव ध्रुव पोखरेलले आचारसंहिता पालनमा सबै सजग हुनुपर्नेमा जोड दिए । नेकपा (एमाले)का प्रतिनिधि मुकुन्द दाहालले आचारसंहिता पालना गर्ने सबैको कर्तव्य भएपनि कार्यान्वयनमा कतिपय दल चुकेको जनाउँदै यसतर्फ सबै पक्षको ध्यानाकर्षण गराएका थिए ।
मंगोल नेसनल अर्गनाइजेसनका टेकबहादुर तामाङले ठूला दलले आचारसंहिता उल्लंघन गर्ने गरेको गुनासो गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij