Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

मधेशमा ‘होमस्टे’को सम्भावनाबारे अध्ययन गरिँदै

मधेशमा ‘होमस्टे’को सम्भावनाबारे अध्ययन गरिँदै

  • 367
    SHARES
  • मधेशमा ‘होमस्टे’को सम्भावनाबारे अध्ययन गरिँदै

    महोत्तरी । पहाडी र हिमाली जिल्लामा फस्टाएको होमस्टे (घरबास) को मधेशमा पनि सम्भावना खोजिँदैछ ।

    महोत्तरीको बर्दिबास-१४ मा स्थापना भएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम), बर्दिबास शाखाले यसको सम्भावनाबारे अध्ययन थालेको छ । नाथम बर्दिबास शाखाका प्रमुख शिवेन्द्र मल्लिकले गौशाला-८ बेलगाछीमा घरबासको सम्भावना रहेको बताए ।

    प्रारम्भिक चरणमा बर्दिबास वरपर घरबास सञ्चालनका लागि पूर्वाधार विकास गर्न विद्यार्थी, स्थानीय जनप्रतिनिधि र व्यवसायप्रति इच्छा भएकालाई नवलपरासीको अमरटारी र कास्कीको लुवाङ् होमस्टे अभ्यासको स्थलगत अध्ययन अवलोकन गराइएको उनले बताए ।

    नवलपरासी र काश्कीका घरबासको अध्ययन अवलोकनपछि गौशाला-८ का वडाअध्यक्ष भोजबहादुर दर्लामीले महोत्तरीमा पनि अभ्यास सफल हुने उल्लेख गरे ।

    ‘बस्ती नजिकै टुटेश्वरनाथ, पञ्चधुरा माईस्थान, राईमण्डलसहितका प्रसिद्ध तीर्थस्थल छन्’, वडाअध्यक्ष दर्लामीले भने, ‘घरबास सञ्चालनसँग जोडेर यी तीर्थस्थलको पर्यटकीय पूर्वाधार विकासका काम अघि बढाइनुपर्दछ ।’

    पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको, नजिकै सघन वनक्षेत्र र प्रसस्त खोल्साखोल्सी एवम जलाधार क्षेत्र रहेकाले उक्त ठाउँ पर्यटकको रोजाइमा पर्ने दर्लामीले बताए ।

    नाथमसँगै गौशाला र बर्दिबास नगरपालिकाले सो कार्यका लागि पहलकदमी लिनुपर्ने उनको भनाइ छ । घरबासका लागि प्रस्तावित ठाउँ गौशालामा परे पनि टुटेश्वरनाथ, पञ्चधुरा माईस्थान र राईमण्डल बर्दिबास नगरपालिकामा पर्छन् ।

    बेलगाछीमा घरबास र बर्दिबासमा धार्मिकस्थल रहेकामा दुबै नगरपालिकाले समान चासो लिनुपर्ने गौशाला–१ का सन्तबहादुर आलेको भनाइ छ । बर्दिबास प्रदेशकै शैक्षिक केन्द्रका रुपमा चिनिन्छ ।

    यसबाहेक बर्दिबास-सिन्धुली-बनेपा सडक (बिपी राजमार्ग), बर्दिबास-जलेश्वर र बर्दिबास-गौशाला-सम्सी सडकको चौरस्ताचोकसमेत भएकाले बर्दिबास व्यापारिक कारोबारको केन्द्र बन्दैछ ।

    विभिन्न भाषा, संस्कृति र धर्म परम्पराको विविधता पनि बर्दिबासमा देख्न पाइन्छ । बर्दिबास (बर्दिबासचोक) र बेलगाछी बीचको दूरी झण्डै सात किलोमिटर रहेकाले बर्दिबासमा धार्मिक, शैक्षिक, व्यापारिक र अवलोकन भ्रमण प्रयोजनसँग जोडेर हुँदै आएको सघन आवतजावतलाई बेलगाछी होमस्टेसँग जोड्न सकिन्छ ।

    त्यसैले घरबासको सम्भावनातिर पहलकदमी बढाइएको नाथम बर्दिबास शाखाले जनाएको छ । २०७७ मा मुख्यतः वैदेशिक रोजगारमा जानसक्ने सैद्धान्तिक र व्यावहारिक ज्ञान भएको दक्ष जनशक्ति मधेशमा बढाउन नाथमले बर्दिबासमा शाखा स्थापना गरेको हो ।

    यस क्रममा नाथमले यहाँ स्नातक तहमा हस्पिटालिटी म्यानेजमेन्टको पठन-पाठन गराउँदैछ । त्यसैले नाथमले बेलगाछीमा घरबास सञ्चालनका लागि चासो दिएको हो । हाल यहाँ १७ जना अध्ययनरत रहेका नाथम बर्दिबास शाखा प्रमुख मल्लिकले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij