वेबटिभी खबर
धनुषा । मधेस प्रदेशको प्रदेश सभा बैठक आज बस्दै छ । करिब दुई महिनापछि आज दिउँसो १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको हो ।
गत फागुन ४ गतेपछि प्रदेश सभा बैठक बस्न सकेको थिएन । राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनका कारण पनि प्रदेश सभा बैठक बस्न सकेको थिएन । प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार पुरानो बक्यौता रकमबारे पनि कार्यसूची रहेको छ ।
बक्यौता रकमको छानबिन गरी भुक्तानी प्रक्रिया अगाडि बढाउनका लागि उपसभामुख बबिता राउतको संयोजकत्वमा विशेष समिति गठन गरिएको थियो ।
उपसभामुख राउतले भने राजीनामा दिइसकेका छन । त्यसपछि सर्वसहमतिमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की सांसद रानीकुमारी शर्मालाई जिम्मेवारी दिइएको थियो ।
सो समितिको राजीनामा र नयाँ संयोजकको चयनको विषयमा समेत प्रदेश सभाको बैठकमा निर्णय हुने बताइएको छ । समितिको म्याद सकिएकाले बैठकबाट त्यसको निर्णय गरिनेछ ।
सचिव यादवले सरकारले खेलकुद सम्बन्धी विधेयक प्रदेश सभामा पठाएको जानकारी दिए । विभिन्न छवटा विधेयक तयारी अवस्थामा रहेपनि विभिन्न मन्त्रालयको ढिलाइका कारण प्रदेशसभामा पेश हुन नसकेको बताइएको छ ।
मुख्यसचिवको अनुपस्थिति र सरुवाले पनि विधेयकलाई मन्त्रिपरिषद्बाट निर्णय गराउन समस्या देखिएको बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij