वेबटिभी खबर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा सरकारले तोकेभन्दा बढी असुल्ने अस्पताललाई कारबाही गर्ने बताएको छ । मन्त्रालयले सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै बिरामीबाट बढी शुल्क असुल्ने अस्पतालको अनुगमन गर्न आग्रह गरेको छ ।
कोभिड-१९ संक्रमितको उपचार व्यवस्थापनमा लाग्ने खर्च सामान्यको ३५ सय, मध्यमको ७ हजार र गम्भीरको १५ हजारसम्म लिन पाइने र बिरामी स्वयंले आफ्नो उपचार गर्न खोजेमा त्यसमा ५० प्रतिशत अधिकतम थप गरी लिन पाउने व्यवस्था छ ।
सोअनुसार भए नभएको अनुगमन गरी अन्यथा पाइएमा कारबाहीको व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको छ । पछिल्लो समय कोरोना संक्रमितको उपचारमा नीजि अस्पतालले एक दिनकै ६०/७० हजारसम्म लिने गरेको गुनासो बिरामीहरुबाट आउन थालेपछि मन्त्रालयले यस्तो सूचना जारी गरेको जनाएको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij