Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाए मात्र विद्यालयमा भर्ना

बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाए मात्र विद्यालयमा भर्ना

  • 176
    SHARES
  • बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाए मात्र विद्यालयमा भर्ना

    बाग्लुङ । जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकामा हरेक वर्ष बालविवाह गर्ने बालबालिको संख्या बढ्दै गएको छ ।

    images

    गाउँपालिकाले पाँच वर्ष अगाडि बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरेको थियो । अभियानले बालविवाहलाई केही कम गराए पनि अहिले फेरि पुरानै अवस्था पुगेको छ ।

    अभियान सञ्चालनका वर्ष ६ जोडीलाई गाउँपालिकाले छुटाई दिएको थियो । पछिल्लो समय कक्षा ८, ९ र १० मा पढ्ने बालबालिकाले विवाह गरिरहेको पाइएको छ ।

    बालविवाह बढ्दै गएपछि यहाँका विभिन्न विद्यालयले भर्ना गर्न आउने अभिभावक र विद्यार्थीलाई प्रतिबद्धता जनाएर मात्रै भर्ना गर्न थालेको छ ।

    वडा नम्बर-२ स्थित जनजागृति माध्यमिक विद्यालय, वडा नम्बर-३ स्थित धन गौ ज्योति माध्यमिक विद्यालय, वडा नम्बर-५ स्थित शान्ति माध्यमिक विद्यालयलगायतले प्रतिबद्धता गराएर मात्रै विद्यार्थी भर्ना गरेका छन् ।

    भर्ना गर्नुपूर्वनै अभिभावक र विद्यार्थीलाई भर्ना फारममा सही गर्न लगाएर प्रतिबद्ध बनाइएको तमानखोला गाउँपालिका-३ स्थित धन गौ ज्याती माध्यमिक विद्यालयमा प्रधानाध्यापक रवीन्द्रकुमार बुढा मगरले बताए ।

    उनले पालिकाका अन्य विद्यालयमा पछिल्लो समय धेरै बालबालिकाले विवाह गरिरहेको हुँदा विद्यार्थी र अभिभावकलाई सचेत बनाउन भर्ना फारमको ढाँचानै परिवर्तन गरि भर्ना हुन आउनेलाई प्रतिबद्धता जहेर गर्न लगाइएको बताए ।

    बालविवाहसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएको हुँदा यस विद्यालयमा पहिलेको तुलनामा धेरै घटेको प्रअ बुढा मगर बताउँछन् ।

    उनले भने, ‘विगतमा धेरै बालबालिकाले विवाह गरे, अबदेखि कुनै पनि विद्यार्थीले बालविवाह नगरोस् र अभिभावकले आफ्ना नानी बाबुलाई सचेत र सजग बनाउन भन्ने हिसाबले यो शैक्षिक सत्रदेखि भर्ना गर्ने बेलामै अभिभावक र विद्यार्थीलाई सँगै राखेर सचेत बनाउने र प्रतिबद्धता व्यक्त गर्न लगायौँ, यसले बालविवाह रोकथाममा कही टेवा पुग्ने अपेक्षा गरेका छौँ ।’

    तमानखोला-५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालयमा अध्ययन गर्ने तीन÷चार जोडी विद्यार्थीले बालविवाह गर्ने गरेका छन् ।

    गत शैक्षिक सत्रमा मात्रै छ जना (तीन जोडी) बालबालिकाले विवाह गरेको विद्यालयमा प्रधानाध्यापक सत्यनारण सिंहले जानकारी दिए ।

    उनले पटक-पटक अभिभावक र विद्यार्थीलाई बालविवाहबारेमा सचेत बनाए पनि कमी आउन नसकेको बताए ।

    उनले भने, ‘बालविवाह रोक्नका लागि धेरै प्रयास गर्यौँ, गाउँपालिका पनि निकै लाग्यो, केही समय त रोकिन्छ तर पछि उस्तै अवस्था आइहाल्छ, अहिले पनि गर्दैछन् भन्ने सुनिएको छ । जसले बालविवाह गर्छ, उसलाई कानुनी दायरामा ल्याउने विद्यालयले एउटा कार्य विधि बनाएको छ । गाउँपालिका, विद्यालय व्यवस्थापन समिति लगातसँग सहकार्य गरेर न्यूनीकरणमा लागेका छौँ ।’

    उनले यहाँ सबैभन्दा बढी दलित समुदाय रहेको र विदेश जाने तथा अरूको लहलहैमा लागेर विवाह गर्ने प्रचलन रहेको बताए ।

    आर्थिक अवस्था कमजोर, पुरानो रितिरिवाजका कारणले गर्दा बालविवाह रोग्न चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

    वडा नम्बर २ बोंगादोभानस्थित जनजागृति माध्यमिक विद्यालयमा गत वर्ष ६ जना बालबालिकाले विवाह गरेको प्रधानाध्यापक वेदबहादुर बुढा मगरले जानकारी दिए ।

    उनले बालविवाह रोक्नका लागि अभिभावक र विद्यार्थीबीच समय-समयमा अन्तर्क्रिया गर्ने, सचेत बनाउने र किशोरी शिक्षा दिने गरिएको बताए ।

    तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बालविवाह अन्यत्य गर्नका लागि गाउँपालिकाले अभियान थाल्ने बताए ।

    अघिल्लो कार्यकालको सुरुमै बालविवाह न्यूनीकरणका लागि निर्वाध रूपमा लागेको हुँदा केही कम भए पनि अहिले फेरि समस्या आइरहेको बताए ।

    उनले गाउँ-गाउँ र विद्यालयमै पुगेर बालविवाहको बारेमा अभिभावक र बालबालिकालाई सचेत गराउने बताए ।

    उनले भने, ‘भौगोविक विकटताका कारण अशिक्षा, गरिबीलगायका कारणले यहाँ बालविवाह हुने गरेको छ, पहिले-पहिले १५÷१६ वर्षमै विवाह गर्ने, चलन थियो, अहिले पनि त्यसैले निरन्तरता पाएको छ, यसलाई भंग गर्नका लागि हामीहरूले केही कसरत गरेका छौँ । तत्कालै नभए पनि केही समयमा बालविवाहको अन्त्य हुनेमा हामीहरू आशावादी छौँ । शिक्षाको पहुँचमा नभएका बालबालिका र अभिभावकलाई बुझाउने काम पनि भएको छ ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology