वेबटिभी खबर
काठमाडौं । ढोरपाटन सिकार आरक्ष क्षेत्र आसपासका किसान बँदेलले बालीमा क्षति पुर्याउँदा हैरान छन् ।
बारीमा लगाएको आलु, फापर र तरकारीमात्रै होइन घरमा रहेका स–साना बालबालिका र वृद्धवृद्धा बँदेलको आक्रमणमा पर्लान् भन्ने त्रास छ ।
सिकार आरक्षमा बँदेलको संख्या बढ्दो छ । वैधानिकरूपमा अनुमति लिएर बँदेलको सिकार गर्न पाइन्छ ।
तर पछिल्लो पाँच वर्षमा बँदेलको सिकार हुनसकेको छैन । आरक्षमा बँदेल सिकारीको रोजाइमा बँदेल परेन । नाउर, झारल, बँदेल, रतुवा र मृगको सिकार हुँदै आएको ढोरपाटनमा आर्थिक वर्ष २०७३/७४ पछि बँदेलको सिकार हुन नसकेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए ।
ढोरपाटनमा हरेक वर्ष असोज–कात्तिक र फागुन–वैशाखयाममा नाउर, झारल र बँदेल सिकारका लागि बोलपत्र आह्वान गरेर अनुमति दिइन्छ ।
हरेक वर्ष नाउर र झारलको सिकार भइरहे पनि बँदेलको सिकार शून्य रहेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।
ढोरपाटनमा गत आव २०७८/७९ देखि नाउर र झारलको सिकार गरे पनि बोनसको रूपमा बँदेलको सिकार गर्न रोक लगाएर छुट्टै अनुमति लिनुपर्ने व्यवस्था गरिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट यस वर्षको दोस्रो सिजनमा १२ नाउर, नौ झारल र ११ बँदेलको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिए पनि बँदेलको सिकारका लागि सिकारीले इच्छा नदेखाएका हुन् ।
कँडेलले यस वर्षको अघिल्लो याम (असोज–कात्तिक)मा बोलपत्र स्वीकृत भए पनि दुई नेपाली सिकार गर्न नआएको बताए ।
उनले भने, ‘अघिल्लो याम बोलपत्र स्वीकृत भए पनि बँदेल सिकारका लागि सिकारी आएनन् । यस वर्ष बोलपत्र स्वीकृत नभएपछि सिकारी यस याममा पनि नआउने निश्चित देखिन्छ ।’
बँदेल सिकार रातिमा उत्तम रहेकाले पनि सिकारीले इच्छा नदेखाएको हुनसक्ने प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।
पहिले नाउर र झारलको सिकार गरेवापत बोनसका रूपमा रतुवा र बँदेल एक–एकवटा सिकार गर्न दिइने गरे पनि अहिले त्यसको व्यवस्था नभएको हिमालयन आउट फिटर्सका सञ्चालक अतुल खड्काले बताए ।
उनले अहिले बँदेलको सिकारका लागि पनि बोलपत्रमार्फत स्वीकृत हुनुपर्ने भएकाले सिकारीले इच्छा नदेखाएको बताए ।
सञ्चालक खड्काले नेपालीका लागि सिकार गर्न विभागले सहज वातावरण बनाइदिनुपर्ने बताए ।
प्रक्रिया नबुझेर पनि नेपाली सिकारी नआउने गरेका हुन् । त्यसका लागि विभागले जानकारी दिनुपर्ने उनको धारणा छ ।
स्थानीय गंगा भण्डारीले ढोरपाटनवासीको मुख्य खेती आलु भए पनि बँदेलले क्षति पुर्याउँदा हरेक वर्ष घरव्यवहार चलाउन गाह्रो पर्दै आएको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij