वेबटिभी खबर
मोरङ । बक्रा खोलाले भत्काएको हसन्दह सिँचाइ नहरको डीपीआर सम्पन्न भएको छ । चार वर्षअघि २०७६ मा बक्रा खोलामा आएको बाढीले नहर भत्काएसँगै नहर बन्द भएको थियो ।
नहर बन्ने भएसँगै स्थानीयमा खुसी छाएका छन । बक्रा खोला हसन्दह सिँचाइ उपभोक्ता समितिको पहलमा नहरको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) सम्पन्न भएको हो ।
पथरी शनिश्चरे नगरपालिका-५ र ६ को एकमात्र पैनी २०७६ मा बक्रा खोलामा आएको बाढीले भत्काएको थियो । आठ सय ३० दशमलव ४२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन सिँचाइलाई ऊर्जा तथा जलस्रोत मन्त्रालय र सिँचाइ डिभिजन कार्यालय मोरङको सहयोगमा नहरको डीपीआर सम्पन्न भएको हो ।
नहर अति जीर्ण भएको र नरहमा नौ/१० शाखा पैनी (कुलो)को डीपीआर सम्पन्न भएको सिँचाइ डिभिजन कार्यालयका इञ्जिनियर हिरा शाहले बताए । लागत अनुमानका आधारमा बजेट विनियोजन भई जेठबाट काम अघि बढ्ने शाहको भनाइ छ ।
उर्लाबारी नगरपालिका-३ मा रहेको बक्रा खोलाबाट सुनवर्शी नगरपालिका-२ सुगाँबजारसम्म पुग्ने लगभग नौ किलोमिटर नहरमा नौ/१० शाखा पैनी रहेको समितिका सचिव वेदराज खतिवडाले जानकारी दिए ।
पथरी शनिश्चरे-५ र ६ कृषियोग्य जमिन हो । बक्रा खोलामा आएको बाढीका कारण पैनी भत्किएपछि सिँचाइमा अवरूद्ध भएको छ । पैनी अवरूद्ध भएका कारण धेरै जमिन बाँझो छ ।
किसानले सिँचाइका लागि आकाशको भर पर्नुपर्ने र बोरिङको साहारामा सिँचाइ गर्नुपरेको छ । नहरबाट पथरी शनिश्चरे-५ र ६ का ९० प्रतिशत किसान लाभान्वित हुने समितिका उपाध्यक्ष ध्रुव थापाले बताए ।
ऊर्जा तथा जलस्रोत मन्त्रालयको २० लाख लगानीमा सिँचाइ डिभिजन कार्यालयले हसन्दह मूल पैनीको जीर्ण रहेको स्थानमा मर्मत कार्यसमेत सुरु गरेको छ ।
वर्षौंदेखि पैनी समस्याका कारण खेती गर्नबाट बञ्चित कृषक पनि उत्साहित बनेका छन । निर्माण योजनाले समयमै सफलता पाए पथरी शनिश्चरे-५ र ६ का आठ सय ३० दशमलव ४२ हेक्टरका कृषक लाभान्वित हुनेछन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij