वेबटिभी खबर
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानको पूर्ण कार्यान्वयनबाट श्रमिकको हक स्थापित गर्न सकिनेमा जोड दिएकी छन ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै उनले संविधान प्रदत्त मौलिक हकको कार्यान्वयनबाट श्रमिक वर्गको पक्षमा पर्याप्त काम गर्न सकिने आधार तयार भएको उल्लेख गरिन ।
‘नेपालमा श्रमिकका पक्षमा विविधखाले आन्दोलन हुँदै आएका छन । किसान मजदुरसहित श्रमजीवी वर्गको सहभागितामा नेपालमा भएका ठूलाठूला राजनीतिक आन्दोलनको परिणामस्वरुप संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ जनताको बलिदानपूर्ण संघर्षको जगमा बनेको संविधानले श्रमको हकलाई मौलिक हककैरूपमा स्थापित गरेर श्रमिक वर्गको हकहितलाई प्राथमिकता दिएको छ’, मन्त्री शर्माले भनिन् ।
मन्त्री शर्माले प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुने, प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने, प्रत्येक श्रमिकलाई कानुनबमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउनेजस्ता प्रावधान मौलिक हकमै समेटिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
शिक्षा, स्वास्थ, आवास, खाद्यान्न, खानेपानी, सामाजिक सुरक्षा, रोजगारीलगायत मौलिक हकको कार्यान्वयनबाट पनि श्रमिक वर्गको पक्षमा पर्याप्त काम गर्न सकिने आधार तयार भएको उल्लेख गर्दै मन्त्री शर्माले मौलिक हकलाई पूर्ण कार्यान्वयनमा ल्याउँदै संविधानले निर्दिष्ट गरेको समाजवादोन्मुख अर्थतन्त्र अवलम्बन गरेर पुँजी र श्रमको उचित संयोजनमार्फत समृद्धि हालिस गर्ने सम्भावना फराकिलो बन्दै गएको बताएकी छन ।
सामाजिक न्यायसहितको समृद्धिबाट नै नेपालमा मजदुर किसानसहित आम श्रमजीवी वर्गको जीवनमा रुपान्तरण ल्याउन सम्भव भएको उल्लेख गर्दै मन्त्री शर्माले राजनीतिक उपलब्धिको जगमा आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमार्फत आम जनताको जीवनमा परिवर्तन ल्याउन प्रण गर्नुपर्ने बेला आएको स्मरण गराएकी छन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij