वेबटिभी खबर
काडमाडौं । आगामी जेठ १ गतेदेखि अस्पतालको बहिरंग (ओपीडी) शुल्क वृद्धि हुने भएको छ ।
नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन)को बैठकले डाक्टरहरूको परामर्श शुल्क बढाउने निर्णय गरेको हो ।
चिकित्सक संघ र अफिनले एक विज्ञप्ति जारी गर्दै चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरि निर्णय गरिएको हो ।
१८ चैत २०७९ मा बसेको नेपाल चिकित्सक संघ र अफिनको संयुक्त बैठकबाट नेपाल राष्ट्र बैंकको मुद्रा स्फिर्ति दर तथा शुल्क निर्धारण समितिको सिफारिसलाई आधार मानी नयाँ परामर्श शुल्क सार्वजानिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
परामर्श शुल्क कार्यावन्यन गर्न चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पताललाई आग्रह समेत गरेका छन् । विज्ञप्तिमा उल्लेख भए अनुसार एमबीबीएस र बीडीएस चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ४२० र ५ वर्षभन्दा बढी अनुभव भएकाहरूले ५१५ रूपैयाँ परामर्श शुल्क लिन पाउनेछन् ।
यस्तै डिप्लोमा चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ५९० र त्यसभन्दा बढी अनुभव भएकाहरुले ६७० शुल्क लिन पाउनेछन् ।
यसैगरी एमडी, एमएस र एमडीएस चिकित्सकहरू ५ वर्ष अनुभव भएकाले ७५० र त्यसभन्दा बढी अनुभव भएकाहरुले ८०० रूपैयाँ शुल्क लिन पाउनेछन् ।
डीएम तथा एमसीएच गरी ५ वर्ष अनुभव भएकाहरुले परामर्श शुल्कवापत ८८० रूपैयाँ लिन पाउनेछन् ।
डीएम तथा एमसीएच गरी ५ वर्षभन्दा बढी अनुभव भएका तथा एमडी एमएस, एमडीएस गरी १० वर्षभन्दा बढी अनुभव भएकाहरुले ९४० रूपैयाँ परामर्श शुल्क लिन पाउनेछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij