Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

विदेशबाट फर्केर पशुपालन : मासिक डेढ लाख आम्दानी

विदेशबाट फर्केर पशुपालन : मासिक डेढ लाख आम्दानी

  • 269
    SHARES
  • विदेशबाट फर्केर पशुपालन : मासिक डेढ लाख आम्दानी

    म्याग्दी । आफ्नै गाउँमा कमाइ गर्न सकिएन भन्दै विदेश जान मरिहत्ते गर्ने युवाको भीडमा दरवाङका एक युवाले भने गाउँमै विदेशभन्दा बढी कमाउन सकिन्छ भन्ने कुरा प्रमाणित गरेका छन ।

    पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६ उपल्लो बजारका २८ वर्षीय युवा सुजन पौडेल चार वर्ष युएईमा काम गरेर फर्केपछि पुन विदेश नजाने प्रण गर्दै गाउँमै गरेको भैँसी पालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन ।

    उपल्लो दरवाङको केबि एकेडेमी नजिकै २०७७ सालदेखि भैँसीपालन गरेका पौडेलले छ भैँसीबाट दैनिक ४० लिटर दूध दरवाङ बजारमा बिक्री गर्दै आएका छन ।

    प्रतिलिटर एक सय २० का दरले दूध बिक्री गर्दा पौडेलले दैनिक चार हजार आठ सय कमाइ गर्छन् । दूध बिक्रीबाट मासिक एक लाख ४४ हजार कमाइ गर्ने पौडेलले सबै खर्च कटाएर मासिक ८० हजारभन्दा बढी बचत गर्ने बताए ।

    २०७७ मा १२ लाखको लगानीबाट भैंँसी पालन सुरु गरेका पौडेलले अहिले लगानी बढाएर २० लाख जति खर्च भएको बताउँछन् । भैँसीपालनसँगै बाख्रापालन र तरकारी खेतीसमेत गरेका पौडेलको सबैतिरबाट आम्दानी जोड्दा मासिक एक लाखभन्दा बढी हुन आउँछ ।

    ‘विदेशमा अरुको अधिनमा रही काम गर्दा पनि ४० हजारभन्दा बढी कमाइ हुँदैन्थ्यो’, पौडेलले भने, ‘यहाँ आफ्नै गाउँमा परिवारसँगै बसेर काम गर्ने हो भने  एक लाखभन्दा बढी मासिक कमाइ गर्न सकिँदो रहेछ ।’

    पौडेलले क्रस जातका बाख्रा पालेका छन । प्रांगारिक मलबाट तरकारी खेतीसमेत गरेका पौडेल आफ्नो काम र कमाइ दुवैबाट सन्तुष्ट छन ।

    ‘मलाई पनि सुरुमा विदेश जान पाए के के न हुन्छ होला जस्तो लाग्थ्यो, जब विदेश गएर त्यहाँका दुःख अनि त्यति दुःख गर्दा हुने आम्दानी देंखे, त्यसपछि विदेश बस्न मन लागेन र आफ्नै ठाउँमा आएर भैँसीपालन सुरु गरेको हुँ’, उनले भने ।

    दरवाङ गाउँपालिकाको कृषि तथा भेटेरनरी शाखाबाट भकारो सुधारका लागि उनले चालु आर्थिक वर्षमा दुई लाख अनुदान पाउनुबाहेक स्थानीय तहबाट अरु कुनै सहयोग प्राप्त हुन नसकेको बताए ।

    ‘आफ्नै गाउँमा केही गर्छु भनेर लागेका युवालाई स्थानीय तहले सहयोग गर्नुपर्छ, सरकारी अनुदान र सहयोगमा आफन्त, नातागोता र राजनीतिक आस्था हेरिनुहुन्न, यसो भयो भने मात्र सरकारले दिने सहयोग वास्तविक किसानसम्म पुग्छ र किसान प्रोत्साहित हुन्छन्’, पौडेलले भने ।

    म्याग्दीबाट बर्सेनि विदेशिने युवाको लर्को लाग्ने गर्दछ । चालु आवको चैत मसान्तसम्ममा मात्र विदेश जानका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट पाँच हजार छ सय ८४ ले राहदानी लिएका जनाइएको छ ।

    गत आव २०७८/७९ मा कार्यालयबाट चार हजार ७४ ले राहदानीका लागि सिफारिस लिएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले गत वर्षभन्दा यस वर्ष राहदानी लिने संख्या बढेको बताए ।

    राहदानी लिने युवायुवती बढी छन । विवाहित र नाबालक व्यक्ति राहदानी बनाउने पनि छन । अमेरिका, युरोप, अस्ट्रेलिया, जापानसँगै खाडी मूलुकमा रोजगार, व्यवसाय, अध्ययन र पारिवारिक भेटघाटका लागि जानेको संख्या बढेसँगै राहदानी बनाउनेको संख्या बढेको सहायक प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए ।

    अध्ययनका लागि विदेश पलायन हुने अधिकांश अध्ययनका लागिभन्दा पनि रोजगारकै लागि जाने प्रचलन छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij