वेबटिभी खबर
नवलपुर । नेपाली कांग्रेसका नेता एवम् सांसद डाक्टर शशांक कोइरालाले घडियाल गोहीको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताएका छन् ।
जिल्लाको देवचुली-१७ मा आयोजना भएको ‘घडियाल काव्य उत्सव-२०८०’ सहभागी हुँदै उनले संकटापन्न अवस्थाको घडियाल गोही संरक्षण गर्नु नागरिक र सरकार दुवैको कर्तव्य भएको बताएका हुन् ।
‘घडियाल गोहीको संरक्षणका लागि सबैभन्दा पहिला पानीको संरक्षण गर्न जरूरी रहेको छ’, डा.कोइरालाले भने । पानीका मुहान जोगाउन र पानी सफा राख्न सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
मानवीय कारणले प्राकृतिक सम्पदाको नास हुँदै गइरहेकाले यस्ता सम्पदा जोगाउन सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा कोइरालाले जोड दिए ।
१९७० बाट नै दुर्लभ मानिएको अति संकटापन्न अवस्थाको जीव घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि घडियाल काव्य उत्सवको दोस्रो संस्करण आयोजना गरिएको आयोजक ह्याप्पी एफएमका प्रबन्ध निर्देशक दिपेश कडरियाले बताए ।
पहिलो संस्करणका विषय वस्तु र मुद्दालाई परिस्कृत तथा परिमार्जित गर्दै आयोजना गरिएको उत्सवको मुख्य संरक्षककारूपमा देवचुली नगरपालिका रहेको छ । उत्सवको दोस्रो दिन आज शनिबार ‘प्रकृतिसँग साहित्य’, ‘शिरको गाथा तीरको व्यथा’ र ‘वैभवशाली देवचुली शीर्षक’मा बहस तथा छलफलका कार्यक्रम हुँदैछन् ।
आज बिहानबाट काव्य वाचनको कार्यक्रम सुरु भएको छ । काव्य वाचनमा गण्डकी प्रदेशसहित मध्यनेपालका १८ जना स्रस्टाले कविता वाचन गर्दै छन ।
आजको छलफलमा महानायक राजेश हमाल, साहित्यकार भूपिन खड्का, देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपाने, बुलिङटार गाउँपालिका अध्यक्ष दीपेन्द्र सुनारी, विष्णुप्रसाद भुसाल, मोहनप्रसाद मरासिनीको सहभागिता हुँदैछ ।
विभिन्न तीन चरणमा हुने आजको छलफलमा छुट्टाछुट्टै विषय वस्तुमाथि छलफल गरिने कडरियाले जानकारी दिए । कार्यक्रमका लागि पिप्रहरस्थित होमस्टे परिसरमा खरको छानो हालेर आकर्षक मञ्च बनाइएको छ ।
खर र बाँसबाट निर्मित मञ्चमा परालको गुन्द्री ओछ्याइएको छ भने कोर्को, हलो, जुवा, फुर्लुङ, ढडिया, ठेकी, डालोलगायतका परम्परागत सामग्रीहरूले सजाइएको छ ।
उत्सवको पहिलो दिन शुक्रबार ‘संकटमा घडियालः लोभदेखि लोपसम्म’,‘वेग र भेगको दोसाँधमा नारायणी’,‘शिक्षाको संरक्षण कि संरक्षणका लागि शिक्षा’,‘चराचरमा चरा’, ‘नवलपुरमा राष्ट्रिय निकुञ्ज आवश्यकता कि बाध्यता’ गरी पाँच वटा चरणमा कार्यक्रम भएका छन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij