Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बाँके र बर्दियामा थालसेमियाका बिरामीको पहिचान खुल्दै

बाँके र बर्दियामा थालसेमियाका बिरामीको पहिचान खुल्दै

  • 280
    SHARES
  • बाँके र बर्दियामा थालसेमियाका बिरामीको पहिचान खुल्दै

    बाँके । बाँके र बर्दियामा थालसेमियाका बिरामीको पहिचान खुल्न थालेको छ ।

    बाँके र बर्दियाका विभिन्न स्थानीय तहले यसको जाँच सुरु गरेपछि थालसेमियाका बिरामीको पहिचान खुल्न थालेको भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले बताए ।

    जिल्लाको कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका र बर्दियाको बारबर्दिया नगरपालिका र राजापुर नगरपालिकामा स्क्रिनिङ परीक्षणपछि बिरामीको पहिचान भएकाले थालसेमियाका बिरामीको संख्या बढ्न थालेको फिजिसियन डा.पाण्डेले जानकारी दिए ।

    उनले थालसेमिया र सिकलसेल एनिमिया एउटा सिक्काको दुई पाटा भएको उल्लेख गर्दै केही वर्षयतादेखि भेरी अस्पतालमा निःशुल्क परीक्षण भइरहेको बताए ।

    भेरी अस्पताल नेपालगञ्जमा अहिले दैनिक थालसेमियाका बिरामी आउने गरेका छन । उनीहरूमा जन्डिस, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या आउनेलगायतका लक्षण देखिएको भेरी अस्पतालका सूचना अधिकारी डा.संकेत रिसालले जानकारी दिए ।

    थालसेमिया रोगका लागि रगत विशेषज्ञ नभएको उल्लेख गर्दै उनले फिजिसियन चिकित्सकले बिरामी हेरिरहेको बताए । थालसेमिया सिकलसेल जस्तै रगतसँग सम्बन्धित रोग हो ।

    सरकारले सिकलसेललाई जनस्वास्थ्यको समस्याका रूपमा परिभाषा गर्दै एक लाखसम्मको औषधी निःशुल्क प्रदान गर्दै आएको छ । तर थालसेमियाका बिरामीले सो सुविधा पाएका छैनन् ।

    थालसेमियाका बिरामीको उपचारमा संलग्न नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.रोमा बोराले पछिल्लो समय बालबालिकामा रगतको कमी हुने थालसेमिया जस्तो रक्तअल्पताको समस्या लिएर बिरामी आउने गरेको जानकारी दिइन् ।

    उनका अनुसार अहिले करिब ६५ जना थालसेमियाबाट पीडित बालबालिका उपचारका लागि आएको र यीमध्ये करिब १४ जना नेपालगञ्जका विभिन्न समुदायका रहेको छन ।

    सो रोगका ८० प्रतिशत बिरामी थारू समुदायको र २० प्रतिशत अन्य समुदायको रहेको बताइएको छ । त्यसमा थारू, मुस्लिम, जनजाति, मधेसी सुमदायका रहेका छन ।

    नेपालगञ्जमा निजी क्षेत्रबाट सञ्चालित कान्ति आरोग्य अस्पतालमा आउने थाल्सेमियाका बिरामीलाई बेड चार्जदेखि चिकित्सकको शुल्क र कुरुवा बस्ने सुविधा निःशुल्करूपले उपलब्ध गराएको छ ।

    बर्दियाका फकिरे थारूले थालसेमियका बिरामीलाई राज्यले निःशुल्क औषधी तथा उपचारको प्रबन्ध गर्न माग गर्दै रगत अभाव हुँदा खोज्न, आइरन जाँच गर्न समस्या भोगेको बताए। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij