Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

रामपुरको जनविकास प्राविमा विद्यार्थी भर्ना शून्य

रामपुरको जनविकास प्राविमा विद्यार्थी भर्ना शून्य

  • 297
    SHARES
  • रामपुरको जनविकास प्राविमा विद्यार्थी भर्ना शून्य

    पाल्पा । सुन्दा पनि जो-कसैलाई आश्चर्य र पत्यार नलाग्न सक्ला, विद्यालयमा एक जना विद्यार्थी पनि भर्ना नभएको खबर ।

    रामपुर नगरपालिका-३ स्थित लामटाङमा रहेको जनविकास प्राथमिक विद्यालयमा यस शैक्षिक सत्रमा विद्यार्थी भर्नादर शून्य छ । यहाँ वैशाख २६ गतेसम्म एक जना विद्यार्थी पनि विद्यालयमा भर्ना नभएको पाइएको छ ।

    विद्यार्थी भर्ना हुन आउने आश्वासन पाएर माथिल्लो निकायमा जानकारी नदिइएको तर शैक्षिक सत्र सुरु भएको महिनाको अन्तिमसम्म पनि विद्यार्थी भर्ना हुन कोही पनि नआएको प्रधानाध्यापक देवबहादुर ठाडाले बताए ।

    गत शैक्षिक सत्रमा कक्षा १ मा चार, कक्षा २ मा दुई, कक्षा ३ मा चार, कक्षा ४ मा एक, कक्षा ५ मा दुई गरी जम्मा १३ जना विद्यार्थी भर्ना भएको विद्यालयले जनाएको छ ।

    हाल यहाँ स्थायी दरबन्दीमा एक, करार दरबन्दीमा एक शिक्षक र एक कार्यालय सहयोगी छन । बसाइँसराइ गरेर अन्यत्र गएपछि गाउँमा बसेर पढ्ने विद्यार्थी छैनन् ।

    शैक्षिक सत्र सुरु भएको एक महिना पूरा हुन लाग्दा विद्यालयमा एक जना पनि विद्यार्थी भर्ना नभएको खबर सुनेलगत्तै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, शिक्षा अधिकृत विकल काफ्लेलगायतको टोलीले मंगलबार अनुगमन गरेका छन ।

    अनुगमनका क्रममा नगरप्रमुख थापाले विद्यालयमा पढ्ने विद्यार्थी नै नभएपछि तत्काल नजिकको पायक पर्ने विद्यालयमा समायोजन गरेर सञ्चालन गर्ने बताए ।

    ‘विद्यालयमा विद्यार्थी भर्ना नभएपछि समयमै हामीलाई सम्बन्धित निकायबाट जानकारी आएन, ढिलो भएपछि आफूले सो जानकारी पाएपछि तत्काल विद्यालय अनुगमन गरेको छु’, नगरप्रमुख थापाले भने, ‘जतिसक्दो चाँडो विद्यालय व्यवस्थापन समितिको बैठक बसेर अन्यत्र विद्यालय सामायोजन गर्न विद्यालयलाई ताकेता गरेको छु ।’

    रामपुर नगरपालिकाभित्र कम्तीमा २० विद्यार्थी संख्या भएको विद्यालयमा न्यूनतम दुई शिक्षक दरबन्दी व्यवस्था गरिएको र विद्यार्थी नै नभएपछि यसै वडाको छिमेकी विद्यालय सीता माध्यमिक विद्यालय समायोजन गर्ने तयारी गर्न विद्यालयलाई आग्रह गरेको शिक्षा अधिकृत विकल काफ्ले बताए ।

    यस शैक्षिक सत्रको वैशाख २ गतेदेखि नै सुरु भएको विद्यालयमा शिक्षक, कर्मचारी दिनभर विद्यालय खोलेर बस्ने, कार्यालय समय सकिएपछि हाजिर गरेर घर जाने कार्यमात्र भएको छ ।

    शिक्षक कर्मचारीलाई पनि विद्यार्थी नहुँदा दिनभर त्यत्तिकै खाली समय बिताउन कठिनाइ परेको शिक्षक शर्मिला रेग्मीको भनाइ छ । रामपुर नगरपालिकाको माथिल्लो भेग भएकाले यहाँ विशेष गरी जनजाति, दलित समुदायका बालबालिकाको बर्चस्व रहन्थ्यो ।

    शहर बजार आसपास क्षेत्रमा बसाइँसराइ जाने कार्यले गाउँका विद्यालयमा पछिल्लो समय विद्यार्थी संख्या अति न्यून छन । चारैतिर घेराबार गरिएको करिब चार रोपनी क्षेत्रफलमा तीन भवनमा ११ वटा कक्षा कोठा रहेका छन ।

    भौतिक पूर्वाधार राम्रो रहेता पनि विद्यार्थी संख्या नै नभएपछि विद्यालय समायोजन गरिनुपर्ने स्थितिमा पुगेको छ । २०२१ माघ १९ गते स्थापना भई पठन-पाठन हुँदै आएको यस विद्यालय अहिले विद्यार्थी कोही पनि नभएपछि शिक्षण कार्य बन्द छ ।

    गाउँमा जनघनत्व बाक्लै हुँदा धेरैलाई शिक्षा दिएको विद्यालय आज जनघनत्व कम हुँदै गर्दा विद्यालय बन्द हुने स्थिति आएको छ । यहाँको जनविकास प्राथमिक विद्यालयजस्तै अन्य ठाउँमा पनि गाउँमा रहेका सामुदायिक विद्यालय बन्द हुने अवस्थामा छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij