वेबटिभी खबर
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडियाले सकारात्मक रूपमा खबरदारी गरेमा सरकारलाई काम गर्न सहयोग पुग्ने बताएकी छिन् ।
आज दाङमा आयोजित एक कार्यक्रममा उनले देशको विकास र सुशासनका लागि सबैको सकारात्मक साथ सहयोगको अपेक्षा सरकारले खोजेको बताएकी हुन् ।
रेडियो सुन्ने र रेडियोको समाचारमा भर पर्नेको संख्या धेरै रहेको उल्लेख गर्दै मन्त्री शर्माले यसको सवलीकरणमा राज्यको ध्यान दिने विश्वास दिलाइन् ।
राजनीतिक दलमा आबद्ध भई बेथिति गर्नेहरूका कारण अहिलेको व्यवस्थामाथि नै प्रहार गर्न खोज्नु सह्य नहुने उनको भनाइ छ ।
उनले भनिन्, ‘हामीले प्राप्त गरेका उपलब्धि बचाउँदै मुलुकको विकास र सुशासन कायम गर्न रेडियोले हिजोका दिनमा जसरी आफ्नो भूमिका सशक्त बनाएर लैजानुपर्छ । एक जना नेता, कर्मचारी, मिडियाकर्मी, व्यक्तिको कमजोरी गल्तीलाई संस्थागत रूपमा जोडेर व्यवस्थामाथि नै नकारात्मक भाव पैदा गर्ने काम कोही कसैबाट गरिनुहुँदैन । यसमा रेडियो मध्यपश्चिमले तटष्ठ, निष्पक्ष र स्वतन्त्ररूपमा अघि बढ्नुपर्छ ।’
कार्यक्रममा रेडियोका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्मो मिडियामा देखापरेको समस्याका बारेमा अब बृहत् समीक्षा आवश्यक भएको बताए ।
उनले सञ्चारको चरम उत्कर्ष विकासमा प्रवेश गरेको बेलामा मिडिया सवलीकरणमा लाग्न सुझाव दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij