वेबटिभी खबर
कास्की । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा जारी वडास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलका खेल आजदेखि हुनेछन् ।
मंगलबार सम्पन्न खेलमा पोखरा-१५, पोखरा-३०, पोखरा-१४ र पोखरा-२७ वडाको टोली विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन् ।
खेलकुद विकास समितिका सदस्यसचिव सुवास खड्काका अनुसार वडा नं १५ ले वडा नं १३ लाई ४-१, वडा नं ३० ले वडा नं ८ लाई ३-२, वडा नं १४ ले वडा नं ३२ लाई २-० तथा वडा नं २७ ले वडा नं २४ लाई ४-३ गोलअन्तरले पराजित गरेका थिए ।
आज पहिलो सेमिफाइनल खेल वडा नं १५ र ३० बीच तथा दोस्रो सेमिफाइनल खेल वडा नं १४ र २७ बीच पोखरा रंगशालास्थित फुटबल मैदानमा हुने छ । कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडाको सहभागिता छ ।
विजेताले एक लाख ५० तथा उपविजेताले एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने सदस्यसचिव खड्काले जानकारी दिए ।
यस्तै सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार तथा उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई जनही पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
फाइनल खेल बिहीबार पोखरा रंगशालास्थित फुटबल मैदानमा हुने आयोजकले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij