वेबटिभी खबर
महोत्तरी । लगातारको हावाहुरीले महोत्तरीका फलफूल र तरकारी किसान निरास भएका छन ।
जेठ लागीकन प्रत्येक दुई/तीन दिनको फरकमा चलेको हावाहुरीले बग्रेल्ती आँपका दाना झार्नसँगै लहरे तरकारीका बेला (लहरा) हुत्याएर चुँडाएपछि उत्पादन हात नलाग्ने भएपछि किसान निरास भएका हुन ।
पछिल्लो पटक शुक्रबार रातिको हावाहुरीले बग्रेल्ती आँप झारेका छन । त्यसैगरी फर्सी, लौका, घिरौँला, झिगिँनी, काँक्रा र चिचिन्डासहितका तरकारी बालीका बेला (लहरा) हुत्याउँदै चुँडाएर नोक्सान गरेपछि किसानहरू निरास भएका हुन ।
‘हेर्नोस् न, जेठ लागीकन दिनहुँजसो हावाहुरीले झारेका आँप टिप्दै दिन जान्छ, मुखमै आएको बाली सखाप भएको छ’, आँप टिप्दै भङ्गाहा-४ रामनगरका ६० वर्षीय किसान शुभलाल ठाकुरले भने, ‘जेठ मध्यतिर यत्रो हाहाहुरी त्यति भोगिएको थिएन, खै के हुन लागेको हो ?’
अब १५/१६ दिन दुःख काट्दा एउटा बाली हात लाग्छ भन्ने आश पनि मरेको ठाकुरको भनाइ छ । तराईमा चाँडै पाक्ने जातको बम्बै आँप जेठ अन्तिममा तयार हुन्छ । तर दुई साताअघिको हावाहुरीले आँप झारेपछि दुःख लागेको ठाकुर बताउँछन् ।
महोत्तरीमा जेठमा प्रत्येक दुईरतीन दिनमा हावाहुरी चल्दै आएको छ । बिहीबार साँझ र शुक्रबार रातिको हावाहुरीले झारेका आँप किसान कौडीका दाममा बेच्दैछन् । हुरीले झारेर फुटाएको आँप त मिल्काउनुबाहेक कुनै विकल्प नभएको ठाकुरकै छिमेकी किसान जब्बार शेषले बताए ।
विगतमा चैतरवैशाख हावाहुरीको समय हुने र जेठ लागेपछि त्यति नलाग्ने भोग्दै आएका किसानलाई यसपाली जेठमा लगातार चलेको हावाहुरीले अत्याएको छ ।
‘जेठको दुई साता नबित्दै पाँचरछ पटक हावाहुरीले हामीलाई चिल्लीबिल्ली बनाएको छ’, बर्दिबास-९ पशुपतिनगर टोकीटोलका किसान रामचन्द्र थापामगरले भने, ‘आँप झरे, तरकारीका लहरा चुँडिएर लत्रिएका छन्, भर्खर घोगा लाग्दै गरेका मकैका बोट लडाएर सोतर बनाएको छ ।’
प्रकृति अनुकूल नहुँदा विपदैविपद् खेप्नुपरेको थापाको भनाइ छ । हावाहुरीसँगै मेघगर्जन सुनिए पनि पानी भने त्यति नपरेको किसान बताउँछन् । ‘हावाहुरीपछि पानी त परेको छ, तर धानको ब्याड राख्नेगरी माटो गालेर परेको छैन’, गौशाला-१० लक्ष्मीनियाँका किसान महेश्वर महतोले भने ।
जिल्लाको उत्तरी क्षेत्रका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका फलफूल र तरकारी उत्पादनका पकेटक्षेत्र मानिन्छन् । उत्तरीक्षेत्रका बर्दिबासका खयरमारा, टुटेश्वर, ढुङ्ग्रे, चेरु, माइस्थान, सोनापेटी, भब्सी, पाटु, विजलपुरा र पशुपतिनगर सहितका बस्तीको त मुख्यबाली नै फलफूल (बगैँचा) खेती हो । बगैँचा खेतीमा पनि मुख्य आँप रहँदै आएको छ ।
जिल्लाका मध्य र दक्षिणवर्ती क्षेत्रका पिपरा, मटिहानी, जलेश्वर, रामगोपालपुर र मनराशिशवाको स्थानीय तहको बस्तीमा पनि बगैँचा खेती बाक्लै छ ।
जेठ अन्तिमदेखि लगालग एकपछि अर्को जातका आँप पाक्नेक्रम सुरु हुन्छ । यसरी मुखमै आएको बाली हावाहुरीले सखाप पारेपछि अब वर्षभरिको गुजारा केले चलाउने भन्दै किसान टोलाएका छन ।
हिले जेठमा निरन्तर केही दिनको फरकमा चल्दै (बहदै) आएको हावाहुरी यहीँ मात्र नभई विश्वव्यापी जलवायु परिवर्तनको प्रभावले भएको विज्ञको मत छ । मानवको घच्चपच्चले प्रकृतिका पुराना रीति फेरिँदा कुसमयको हावाहुरी, बर्खा, गर्मी, शीतलहरजस्ता प्रकोप झेल्नुपरेको रुपान्तरण सामाजिक संस्थाका जलवायुविज्ञ विराट पन्तले बताए ।
‘यो प्रभाव न्यूनीकरण गर्न प्राकृतिक स्वरुपको रक्षा र प्रभाव अनूकूल आनीबानी र खेतीपाती गरिन पर्छ’, जलवायुविज्ञ पन्तले भने । राज्यका सबै अंगले यो अनुकूलन विधि अँगाल्न आमजनतालाई अभिप्रेरित गर्नुपर्ने पन्तको सुझाव छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij