सुरञ्जन घिमिरे
रमेश दवाडी
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) यतिबेला सत्तापक्ष कि प्रतिपक्ष भन्ने प्रश्न उठेको छ । जसपका एकजना अध्यक्ष महन्थ ठाकुर र शीर्ष नेता राजेन्द्र महतोसहित ११ जना नेताहरू केपी ओली नेतृत्वको सरकारमा गए पनि अर्काे पक्ष भने यो सरकारको विकल्प खोजीमा छ ।
अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई खेमा भने सरकारको ‘प्रतिपक्षी’ बनेका छन् । यादव-भट्टराई पक्ष ओली सरकारको स्वेच्छारी र सर्वसत्तावादी कदमलाई परास्त गर्दै उनलाई सत्ताबाट बिदा गर्नुपर्ने लाइनमा छ ।
ठाकुर-महतो खेमा भने ओली नेतृत्वको सरकारमा सहभागी भएर जसपाले उठाउँदै आएका माग पुरा गराउनु पर्ने पक्षमा आफ्ना माग पुरा गर्नुपर्ने पक्षमा छन् ।
एकताको पृष्ठभूमि
सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याएपछि तत्कालिन राजपा रसमाजवादी पार्टीबीच रातारात १० वैशाख ०७७ मा पार्टी एकता भयो । राजपा र समाजवादी पार्टी नेपालबीच एकतापूर्व ओली नेतृत्वको सरकारमै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री थिए भने राजपाले सरकारलाई समर्थन गरेको थियो ।
प्रधानमन्त्री ओलीले राजपाका माग सम्बोधन नगरेपछि उनीहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिए र प्रतिपक्षी बेञ्चमा बसे । यद्यपि, समाजवादी पार्टी नेपालका अध्यक्ष यादव भने सरकारमा बसिरहे । त्यो बेला राजपा र समाजवादी पार्टीबीच एकताको कुरा चल्न सुरु भइसकेको थियो । राजपाले सरकार छाडेमात्र एकता अघि बढ्ने अडान राखेको थियो ।
स्वास्थ्यमन्त्रीको रुपमा भारतको नयाँ दिल्ली पुगेका यादवलाई प्रधानमन्त्री ओलीले मन्त्रालयल बद्लेर कानुन मन्त्री बनाइदिए । प्रधानमन्त्री ओलीको यो ‘स्वेच्छाचारी’ निर्णयले यादवलाई नैतिक रूपमा नै सरकारबाट बाहिरिन बाध्य गरायो ।
यादव सरकार छोडेर आएपछि र ओलीले अचानक पार्टी विभाजनसम्बन्धि अध्यादेश ल्याएपछि राजपा र समाजवादी पार्टीबीच एकता भई जनता समाजवादी पार्टी, नेपाल (जसपा) बन्यो । र, संसदमा तेस्रो शक्तिका रूपमा उभियो ।
माग र मुद्दा उही तर कोही सत्तापक्ष कोही प्रतिपक्ष
जसपा बनेको १४ महिना बितिसक्दा बागमती नदीमा धेरै पानी बगिसक्यो । तर ठाकुर, महतोले अनौपचारिक रूपमा राजपा ब्युँताए । शीर्ष नेता नै कोही सत्तामा कोही विपक्षमा हुँदा जसपा सत्तारुढ कि प्रतिपक्ष भन्ने प्रश्न उब्जेको छ । जतिबेला यादवसँग ठाकुर-महतोले पार्टी एकताका निम्ति सरकार छोड्नुपर्ने शर्त राखेका थिए, आज उनीहरूले नै सत्तामा गएका छन् ।
जसपाभित्र सत्तामा जान र त्यसलाई रोक्न एकअर्को पक्षबीच अलग-अलग बैठक र माइन्युट, साधारण सदस्यसमेत नरहनेसम्मको कारबाही, निर्वाचन आयोगमा बहुमत सदस्यसहितको दाबीपत्र पेश गर्ने होडबाजी नै चल्यो ।
यत्तिमात्र होइन २७ वैशाखमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा ठाकुर-महतोपक्ष तटस्थ बस्ने जनाइरहँदा याद-भट्टराई पक्षले भने विपक्षमा मतदान गरेका थिए ।
औपचारिक रूपमा सग्लो देखिएको जसपा व्यवहारिक रूपमा भने दुई चिरा बनेको नेताहरू नै स्वीकार्छन् । १७ जेठमा बाबुरामले जसपा फुटेको संकेत गर्दै ठाकुर पक्षलाई ‘हात मिलाएर आ-आफ्नो बाटो लाग्न’ सुझाव मात्रै दिएनन्, ‘हिँड्दै गए फेरि भेट हुन्छ’ भन्दै एकताको विनम्र आह्वान पनि गरेका थिए ।
साथै उनले समयले नयाँ ध्रुवीकरण खोजेको टिप्पणी गर्दै भेडा, भेडासँग र बाख्रा, बाख्रासँग हुनुपर्ने धारणा राखेका थिए ।
तर जसपाकै कार्यकारिणी समिति सदस्य गंगा श्रेष्ठ जसपाको एकता सम्भावना ज्यूँदै रहेको बताउँछन् । उनले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको दाबी गरेका छन् ।
‘पार्टीको सिद्धान्तविपरीत सरकारमा सहभागी हुने ठाकुर-महतोलगायतका नेतालाई कारबाही गरिसकेका छौं,’ श्रेष्ठले भने, ‘हामी ओली नेतृत्वको सरकारको विकल्प खोजीरहेका छौं, उहाँहरू (ठाकुर-महतो) सरकारबाट आउनु भयो भने सहकार्य हुन्छ । हामी सरकारमा जाने कुरै छैन ।’
जसपा यादव-भट्टराईपक्षका शीर्ष नेता महेन्द्र राय यादव भने जसपा फुटेको नभइ केही साथी बाहिरिएको भन्न रुचाउँछन् । ‘हामी विपक्षी दल हौं, प्रतिपक्षमा छौं । सरकारमा कोही व्यक्तिगत रुपमा गएकोमा हाम्रो भन्नु केही छैन् । उहाँहरु फर्केर पनि आउन सक्नु हुन्छ ।,’ यादवले भने ।
जसपामा दुवैपक्षका नेताहरूको माग र मुद्दा समान भए पनि सरकारमा जाने र प्रतिपक्षमा बस्ने दुई धार सिर्जना भएका कारण पार्टी एकतामा क्रमशः क्षयीकरण देखिएको हो । ठाकुर-महतोपक्ष सरकारमा गएपछि जसपा तत्काल प्रतिपक्षमा रहनुपर्ने अडान राख्दै आएको यादव-भट्टराई पक्ष चिढिए ।
यही अवस्थामा पनि पार्टी एकता सम्भव देख्छन् जसपा केन्द्रीय सदस्य तथा प्रदेश-२ का सांसद उपेन्द्र महतो । ‘यही अवस्थामा पनि पार्टी एकता असम्भव छैन । देशको सेन्टिमेन्ट, मधेसको सेन्टिमेन्टलाई ध्यान दिएर एकताबद्ध हुनु राम्रो हो,’महतो भन्छन्, ‘निर्वाचन आयोगले पनि दुवै पक्षलाई मिल्ने आधार दिएको छ । दुवै पक्षले हठ छोडे एकता हुन्छ । दुबै पक्षले एक-एक कदम पछि हटेमा एकत सम्भव छ ।’
कमजोर एकता
तराई-मधेस मामिलाविज्ञ काशिन्द्रप्रसाद यादव जसपाको जग नै कमजोर रहेको टिप्पणी गर्छन् । कम्युनिस्ट विचारधाराका डा.बाबुराम भट्टराईसँग ठाकुर-महतोको विचारधारा मिल्न नसक्ने यादवको विश्लेषण छ ।
‘जसपा कृत्रिम जगमा निर्माण भएको पार्टी हो । यसका नेताहरूको राजनीतिक पृष्ठभूमिको डीएनए नै फरक छ । यसको एकता पूर्ण रूपमा भइसकेकै छैन,’ यादव भन्छन्, ‘अहिले एउटा पक्ष सरकारमा गइसकेपछि पार्टी एकता थप धरासायी बनेको छ । अब पार्टी एकताको सम्भावना छैन ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij