वेबटिभी खबर
काठमाडौं । नेशनल बाथरोग सेन्टरले ‘बाथरोगको जनचेतना घर-घरमा पुर्याउँ, सामाजिक उत्तरदायित्व पूरा गरौँ’ भन्ने नाराका साथ आज आफ्नो १०औँ वार्षिकोत्सव मनाएको छ ।
काठमाडौं, ललितपुर, पोखरालगायतका आठ स्थानबाट स्वास्थ्य सेवा प्रवाह गर्दै आएको सो सेन्टरले अब थप सात स्थानमा सेवा बिस्तार गरी बाथरोगको उपचार गर्ने जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आज यहाँ सेन्टरको वार्षिकोत्सव उद्घाटन गर्दै औषधोपचारसहित जनचेतना जगाएर बाथरोग पीडितका पक्षमा सक्रियरूपमा खटिने स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई सक्दो सहयोग गर्न सरकार तयार रहेको बताए ।
जनताको मौलिक अधिकारका रूपमा रहेको शिक्षा र स्वास्थ्य क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री बस्नेतले स्वस्थ आहारविहार र जीवनशैली अपनाइ रोग लाग्न नदिनेतर्फ सबैको ध्यान जान आवश्यक रहेको जनाए ।
बाथरोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतीले काठमाडौंसहित मुलुकका प्रमुख आठ शहरबाट सेवा प्रवाह गर्दै आएकोमा अब थप सात वटा शहरमा सेवा बिस्तार गरिने जानकारी दिए ।
उनले अहिले काठमाडौंबाट दैनिक दुई सय बिरामीलाई उपचार गराउँदै आएकोमा सेवा बिस्तारपछि छ सय जनाको उपचार गरिने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij