वेबटिभी खबर
काठमाडौं । शुक्रबार मात्र राष्ट्रिय जनमोर्चाले पार्टीबाट निष्काशित गरेका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई सर्वोच्च अदालतले पनि पद खारेज गरेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापालाई २३ जेठमा सांसद पदमा कायम रहने गरी दिएको आदेश रद्द गरेको हो ।
थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रदेशसभा सभामुख नेत्रराज अधिकारीले पुनरावलोकन निवेदन (भ्याकेट) दर्ता गरिएको थियो ।
थापाले पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको तत्कालीन सरकारलाई साथ दिने अडान राखेपछि २० जेठमा जनमोचर्माले थापालाई कारबाही गर्दै पदमुक्त गरेपछि पार्टीको सो कारबाहीविरुद्ध थापाले २१ जेठमा आफ्नो पद पुनर्वहालीका लागि सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
२३ जेठमा सर्वोच्चले थापालाई पुनर्वहालीको फैसला सुनाएपछि २६ जेठमा सभामुख अधिकारीले सर्वोच्चमा (भ्याकेट) दर्ता गराएका थिए ।
२७ जेठमा मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिन जनमोर्चाको ह्विप भए पनि थापा तटस्थ बसेपछि २८ गते (शुक्रबार) बिहान बसेको जनमोर्चाको केन्द्रीय कमिटी बैठकले थापालाई पुनःकारबाही गर्दै सांसद पद खोसेको थियो ।
यसैबीच सोमबार (आज) सर्वोच्चले सांसद थापाको पद रद्द गरेकाे हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij