वेबटिभी खबर
काठमाडौं । गोरखाका विभिन्न चार प्रहरी चौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरिएको छ । सहिद लखन गाउँपालिकाले पालिकाभित्र रहेका मनकामना , बुङ्कोट , राइनास र ताक्लुङ प्रहरी चाैकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए ।
गाउँपालिकाले प्रहरी चाैकीलाई विपद्का लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री मल्टिपर्पोज नाइफ, लाइफ ज्याकेट, रेस्क्यु रोप, फायर एक्स्टीङगुइसर सामग्री उपलब्ध गराएको उनले बताए ।
त्यस्तै फायर फाइटिङ सुट, फायर प्रुफ गम्वुट,लगायतका २१ प्रकारका विपद् प्रतिकार्य सामग्री प्रहरी चाैकीलाई उपलब्ध गराएको अध्यक्ष थापामगरको भनाइ छ ।
प्रहरी चाैकीलाई प्रदान गरिएको विपद् प्रतिकार्य सामग्री करिब १५ लाख बराबरको रहेको उनले जानकारी दिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सहमति नेपाल नामक संस्था तथा गाउँपालिकाको संयुक्त सहकार्य र समन्वयमा सामग्री खरिद गरेर वितरण गरिएको अध्यक्ष थापामगरले बताए ।
उनले भने, ‘विपद् प्रतिकार्य सामग्री सामग्रीको अभावमा विपद्का बेला सुरक्षाकर्मीलाई कार्य गर्न समस्या नहोस् भने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको हो । आवश्यक स्रोत साधन भएमात्र प्रहरीलाई जस्तोसुकै विपद्मा भूमिका खेल्न सहज हुनेछ भन्ने हाम्रो विश्वास छ ।’
गाउँपालिकामा कार्यक्रमको आयोजना गरी आइतबार गाउँपालिका अध्यक्ष थापामगरले प्रहरी चाैकीलाई सामग्री हस्तान्तरण गरेको स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रका व्यक्ति मेघनाथप्रसाद यादवले जानकारी दिए ।
सामग्री वितरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरलगायतको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij