एजेन्सी
नयाँ दिल्ली । भारतमा गएको तीन वर्षमा थप तीन करोड मानिसलाई मधुमेह भएको छ । योसमेत अहिले भारतमा मधुमेहका बिरामीको संख्या १० करोड नाघेको छ । नेपालमा पनि मधुमेहका बिरामी थपिने क्रम दिन प्रतिदिन बढेको छ ।
भारतमा बढ्दो मधुमेहका बिरामीको संख्याले चिन्ता थपेको छ । धेरै संख्यामा बिरामी भएका कारण भारतलाई मधुमेहको राजधानी भनिन्छ । सन् २०१९ मा भारतमा सात करोड मधुमेहका बिरामी थिए । तीन वर्षमा थपिएका तीन करोडसमेत अहिले १० करोड नाघेको हो । चिन्ताको अर्काे कारण के हो भने करिब साढे १३ करोड मानिस मधुमेहको बोर्डर लाइनमा छन् । उनीहरु जुनसुकै बेला मधेमेहका चपेटामा आउन सक्छन् ।
मधुमेहका सबैभन्दा बढी बिरामी गोवा, पांडिचेरी र केरलामा छन भने नेपालसँग सीमा जोडिएका बिहार र उत्तरप्रदेश तुलनात्मक रुपमा मधुमेहको कम प्रकोप भएको राज्य हो ।
भारत मधुमेह बिरामी बढी हुनुका कारण
मधुमेह रोकथाम बारे शिक्षाको अभाव
कार्बोहाइड्रेट, तेल र बोसोयुक्त खानाको सेवन
प्रशोधित मासु खपत
फलफूल, ड्राई फुड्स, फाइबरयुक्त अन्नको कम सेवन
व्यायाम कम हुनु
टिभी, मोबाइल र कम्प्युटर स्क्रिनमा बढी समय बिताउने
मदिरा र सुर्तीजन्य पदार्थको बढी प्रयोग
वातावरणीय प्रदूषण
उच्च रक्तचाप र कोलेस्ट्रोल
मोटोपना
मधुमेहको पारिवारिक इतिहास
कसलाई मधुमेह हुने जोखिम उच्च हुन्छ ?
प्रि–डायबिटिज भएका मानिसहरू (रगतमा चिनीको मात्रा बोर्डर लाइनमा पुगेको)
अधिक तौल भएका व्यक्ति
४५ वर्षभन्दा माथिका मानिसहरू र पारिवारिक इतिहास
उच्च रक्तचाप र कोलेस्ट्रोल भएका व्यक्ति
सुस्त जीवनशैली र कुर्सीमा बसेर काम गर्ने व्यक्ति
हृदय रोग वा स्ट्रोकको इतिहास भएकालाई
चिन्ता र तनाव बढी लिनेलाई
धुम्रपान र मद्यपान बढी गर्नेलाई
गर्भावस्था मा मधुमेहको इतिहास भएकालाई
मधुमेहबाट बच्न के गर्ने ?
वजन घटाउनुहोस्
मधुमेहबाट बच्नका लागि तौल घटाउनै पर्छ । यो एउटा उत्तम उपाय हो । मोटोपन भएको व्यक्तिले ५ देखि १० प्रतिशत तौल घटाएमा मधुमेह नलाग्ने वा पछाडी धकेलीने हुन्छ ।
खानपान सुधार्नुहोस्
खानपान सुधारेर मधुमेहको संभावनालाई रोक्न सकिन्छ । दैनिक भोजनमा क्यालोरीको मात्रा घटाउनु पर्छ । जसले गर्दा तौल नियन्त्रण हुन्छ । खानामा चिनी र चिल्लो पदार्थको मात्रा भारीमात्रामा घटाउनु पर्छ । भोजनमा फाइवरयुक्त अन्नसँगै फलफुल र तरकारी बढी खानुपर्छ । रातो र प्रशोधित मासु बन्द गर्नु राम्रो हुन्छ ।
व्यायाम
व्यायामले शरीरलाई निरोगी राख्न मद्दत गर्छ । नियमित व्यायमले मधुमेहसँगै उच्च रक्तचाप र कोलेस्ट्रोल पनि हुन दिँदैन । दैनिक कम्तिमा आधा घण्टा सक्रिय व्यायाम गर्न चिकित्सकले पनि सुझाव दिने गरेका छन् । पसिना आउने गरी आफुलाई अनुकुल हुने व्यायाम रोजेर गर्न सकिन्छ ।
मदिरा र धुम्रपान छाड्नुहोस्
धुम्रपानले इन्सुलिन प्रतिरोध बिग्रन सक्छ, जसले टाइप २ मधुमेह निम्त्याउन सक्छ। यदि तपाइँ पहिलेदेखि नै धुम्रपान गर्नुहुन्छ भने, छोड्ने प्रयास गर्नुहोस् । मदिराबाट पनि टाढा रहनुहोस् । यी कुलतले स्वास्थ्यलाई हरेक दृष्टिकोणबाट बिगार गर्छ ।
निरन्तर स्वास्थ्य परीक्षण गराउनुहोस्
मधुमेहको जोखिम छ कि छैन भनेर पत्ता लगाउन चिकित्सकको सल्लाहमा नियमित स्वास्थ्य परीक्षण गराउनु पर्छ । यसो गर्दा मधुमेहको संभावनालाई पछाडी धकेल्न वा रोक्न सकिन्छ । (एजेन्सीको सहयोगमा)
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij