Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बेनी नगरपालिकाको ८२ प्रतिशत योजना निर्माण सम्पन्न

बेनी नगरपालिकाको ८२ प्रतिशत योजना निर्माण सम्पन्न

  • 195
    SHARES
  • बेनी नगरपालिकाको ८२ प्रतिशत योजना निर्माण सम्पन्न

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्षको ११ महिना अवधिमा ८२ प्रतिशत योजना निर्माण सकेको छ ।

    चालु आव २०७९/०८० मा बजेट विनियोजन भएका तीन सय ४२ मध्ये जेठ मसान्तसम्म दुई सय ८३ योजना निर्माण सकिएको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले तीन सय ३० योजना उपभोक्ता समिति र १२ ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिएको जानकारी दिए ।

    ‘भौतिक पूर्वाधारका ५९ वटा योजना सम्पन्न हुने क्रममा छन’, प्रमुख अधिकृत ढकालले भने, ‘सबैभन्दा बढी भौतिक पूर्वाधारका योजनामा विनियोजन भएकोमध्ये ६३ दशमलव ४२ प्रतिशत खर्च भएको छ ।’

    भौतिक पूर्वाधारतर्फ १७ करोड ६९ लाख ८५ हजार बजेट विनियोजन भएकोमा ११ करोड २१ लाख ७९ हजार खर्च भएको छ । सडक, भवन, खानेपानी, सिँचाइ, पदमार्ग, नाली निर्माणसम्बन्धी योजना धेरै छन ।

    नगर गौरवका आयोजनाको रूपमा रहेको प्रशासकीय भवनको तला थप, बेनीको मिनि रंगशाला, बेनी-ज्यामरुककोट, सिंगा-तातोपानी तल्लो बजारमा कालोपत्र, बेनी-पात्लेखेत सडक र खबरा खानेपानी आयोजना निर्माण सकिएको छ ।

    पात्लेखेत-काछलुङ खानेपानी आयोजनको ८५ प्रतिशत, गाजने-नयाँगाउँ-ढोलथान खानेपानी आयोजनाको ७५, अर्थुङ्गे-पुलाचौर-भुतपानी सडकको ८०, सिंगा कोल्ड स्टोरको २५, दूधेखोला-हल्लेगौडा-भकिम्ली सडकको ७० र महारानीथान-छाप-डाडाखेत-ठूलोखोला सडक आयोजनाको ८५ प्रतिशत भौतिक प्रगति भएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकामा विनियोजन भएको कूल ७९ करोड १८ लाख १३ हजार बजेटमध्ये ६८ दशमलव ९७ प्रतिशत खर्च भएको छ । विकास आयोजना तथा कार्यक्रमका लागि पुँजीगत शीर्षकको २९ करोड ३७ लाख ३८ हजारमध्ये १९ करोड ४७ लाख ३३ हजार अथवा ६१ दशमलव ७८ प्रतिशत खर्च भएको छ ।

    चालु आवमा चार करोड २३ लाख ७० हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको नगरपालिकाले ११ महिनामा चार करोड २६ लाख ७२ हजार एक सय ४० संकलन गरेको छ । चालु आवको ११ महिनाका अवधिमा तीन सय ५१ जना बसाइँसराइ गरी गएका छन् भने दुई सय १५ जना नगरभित्र बसाई सरेर आएका छन ।

    नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका २३ उजुरीमध्ये १९ को फछ्र्योट र तीन लाई सम्बन्धित निकायमा सिफारिस गरिएको छ । एक वटा सुनुवाइको प्रक्रियामा छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij