वेबटिभी खबर
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले किसान समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर हस्तान्तरण गरेको छ ।
चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार २० बिघाभन्दा बढी क्षेत्रमा खेती गर्ने किसान समूह र कृषि सहकारीलाई अनुदानमा ट्याक्टर हस्तान्तरण गरेको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले बताए ।
मध्यविन्दु-७ को आत्मनिर्भर कृषि सहकारी संस्था लिमिटेड मध्यविन्दु-१५ को कोलकट्टा किसान समूहलाई ट्याक्टर हस्तान्तरण गरिएको हो । ट्याक्टरलाई आवश्यक रोडाभेटर र हलो पनि हस्तान्तरण गरिएको छ ।
ट्याक्टर खरिदमा नगरपालिका र समूहले सात लाख १३ हजार पाँच सयका दरले खर्च गरेको कृषि विकास शाखा मध्यविन्दुका कृषि अधिकृत अक्षय वाग्लेले जानकारी दिए ।
मुख्य कृषि बाली धान रोप्ने समयमा नगरपालिकाले दिएको अनुदानले सहकारीमा आवद्ध र छिमेकी स्थानीय किसान लाभान्वित हुने आत्मनिर्भर कृषि सहकारी संस्थाका अध्यक्ष दीपक पंगेनीले बताए ।
‘नगरपालिका कृषि जोन तथा पकेट क्षेत्रका स्थानीय किसानलाई लक्षित गरी कृषि एम्बुलेन्स कार्यक्रम सञ्चालनको अन्तिम चरणमा छ’, नगर प्रमुख अधिकारीले भने ।
किसानले उत्पादन गरेको कृषि उत्पादन स्थानीय संकलन केन्द्र र केन्द्रबाट बजारसम्म पुर्याउन सहजता ल्याउन कृषि एम्बुलेन्स प्रदान गर्ने गरी योजना निर्माण गरेर कार्यान्वयनको चरणमा रहेका छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij