Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

वैदेशिक रोजगारीले फेरियो पुरन्य गाउँकाे मुहार

वैदेशिक रोजगारीले फेरियो पुरन्य गाउँकाे मुहार

  • 306
    SHARES
  • वैदेशिक रोजगारीले फेरियो पुरन्य गाउँकाे मुहार

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-५ पुरन्यको बस्तीमा एक सय तीन घर रहेको दलित बस्तीमा एउटा मात्र पानीको कुवा थियो ।

    टाढा-टाढाका गाउँमा पुगेर दैनिक ज्याला मजदुरी गरी ल्याएको अन्नले बिहान बेलुकीको छाक टार्नुपर्दथ्यो । गरिबीको मारमा पिल्सिएका त्यहाँका दलित दैनिक ज्याला मजदुरीका लागि टाढाटाढाका गाउँमा जानुपर्ने बाध्यता थियो ।

    गरिबीबाट वाक्कदिक्क भएर २०६७ सालमा पुरन्यका डिलबहादुर, रिजन, यामबहादुर लगायतका कैयौँ युवा खाडी मुलुक पसे । कतार,साउदी,युएई पसेका ती युवाको मेहनतले सार्थकता पाउन थाल्यो । उनीहरूले पैसा कमाएर घरमा रहेका आफन्तलाई पठाउन थाले । अनि फेरियो पुरन्य गाउँको मुहार ।

    घरमा आर्कषक टिभी, गोठमा दुहुनो भैँसी र बैंकमा पैसा, अनि शहरमा घर घडेरी केही वर्ष अगाडिसम्म पुरुन्नेका दलित समुदायलाई सपना जस्तै लाग्ने यो अवस्था अहिले उनीहरूले नै भोग्न पाएका छन ।

    आर्थिक अवस्था कमजोर भएकै कारण दैनिक ज्याला मजदुरी गरेर घरखर्च चलाउने गरेका पुरुन्नेका दलितको दैनिकीमा अहिले पत्याउनै नसकिने किसीमले परिवर्तन आएको छ।

    गाउँबाट धमाधम वैदेशिक रोजगारमा जानेको लर्को लाग्न थालेपछि पुरुन्नेवासीको हातमा मोबाइल, घरमा महँगो टिभी, श्रीमती र सुनको सिक्री, औँठी र शहर बजारमा घरघडेरी समेत छन । पुरन्यका यामबहादुर दर्जीले दिएको जानकारी अनुसार १०३ घरपरिवार रहेको पुरन्यको दलित बस्तीबाट अहिले एकाध बाहेक सबै घरका युवा विदेशमा गएका छन ।

    आर्थिक अवस्था अत्यन्त कमजोर भएपछि छिमेकीको घरमा भाडा, दैनिक मजदुरी गरेर गाँस जुटाउने गरेका यहाँका दलित परिवार घरका उमेर पुगेका भाइ छोरालाई ऋण खोजेर विदेश पठाएको केही वर्षमै गाउँमा आफ्नै घरसहित आधुनिक सुविधा उपभोग गरिरहेका छन ।

    गाउँघरमा ज्याला मजदुरी गरेर दिन बिताउने गरेका यहाँका युवा विदेश गएर धमाधम ‘रेमिट्यान्स’मार्फत पैसा पठाउन थालेपछि पुरुन्नेमा व्यक्तिगत आर्थिक जीवनस्तरका साथै सरसफाई, जीवनशैली, जनचेतना र अन्य व्यवहारमा समेत परिवर्तन आएको गाउँका अगुवा यामबहादुर दर्जीले बताए ।

    पुरुन्नेका अधिकांश घरबाट खाडीमूलुक कतार, साउदी अरब, बराइन, मलेसिया, भारतलगायतका देशमा गएपछि गाउँको रुप फेरिएको छ । आर्थिक स्तरमा परिवर्तन भएसँगै सरसफाईसहित जनचेतनामूलक कार्यमासमेत गाउँले सक्रिय रहेका छन ।

    पुरुन्नेमा मासिक ३० लाख बढी रेमिट्यान्स बापतको रकम भित्रिने गरेको स्थानीयवासीले बताएका छन । आर्थिकस्तरमा परिवर्तन भएपछि सरसफाई, नयाँ प्रविधिको प्रयोग, शिक्षादिक्षामासमेत सहज भएको हो ।

    बालबालिकाले समेत निजी तथा गाउँकै सामुदायिक विद्यालयमा उत्कृष्ट अंक ल्याउन सफल भएका छन भने महिलाले गाउँमा फेन्सी, सिलाइकटाइ, खुद्रा पसलसहित विभिन्न स्वरोजगारमूलक काम गरिरहेका छन ।

    त्यसैगरी केही युवाले वैदेशिक रोजगारबाट कमाएको पैसाले पोखरामा घडेरी किनेर घर समेत बनाएका छन । तीमध्येका एक युवा हुन् रिजन दर्जी । ४३ वर्षीय दर्जी विगत १३ वर्षदेखि युएईमा कार्यरत छन ।

    उनले यो अवधिमा दुई छोरी, एक छोरा र श्रीमतीले चाहेको पुर्‍याइदिनुका साथै पोखरामा घडेरी किनेर घर बनाएका छन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij