वेबटिभी खबर
काठमाडौं । सरकारले बाढी र पहिरोपीडितलाई अस्थायी बसोबासका लागि तत्काल ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । बुधबार गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोक, मनाङसहित देशका विभिन्न जिल्लामा बाढी तथा पहिरोबाट प्रभावित भएकाहरूलाई तत्काल राहतस्वरूप ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।
बाढी र पहिरोबाट प्रभावित भएका परिवारलाई प्रतिपरिवार अस्थायी आवास निर्माणका लागि २५/२५ हजारको दरमा दुई किस्तामा ५० हजार रुपैयाँ स्थानीय तहमार्फत प्रदान गर्ने निर्णय भएको हो । बाढी पहिरोमा परी बेपत्ता भएकाको खोजी र उद्धारका कामलाई तीव्रता दिँदै राहत तथा पुनर्स्थापनाको कामलाई अघि बढाउने पनि बैठकले निर्णय गरेको छ ।
‘उद्धार र खोजी कार्यलाई तीव्रता दिँदै पीडितलाई राहतस्वरुप खाद्यन्नसहित आवश्यक सामग्री स्थानीय तहबाट सहयोग उपलब्ध गराउने निर्णय भएको छ,’ बैठकपछि राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने ।
मनसुनको करिब १ सय दिन बाढी तथा पहिरोसहितका प्राकृतिक विपत्तिको जोखिम उच्च हुने हुँदा सो अवधिको राहत उद्धार तथा जोखिम न्यूनिकरणका लागि तयार पारिएको विस्तृत कार्ययोजना पनि बैठकले पारित गरेको पोखरेलले जानकारी दिए ।
बुधबार अपराह्न ४ बजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रिपरिषद्का सबै मन्त्रीसहित विपद व्यवस्थापन परिषद्को बैठक बस्ने पनि उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij