वेबटिभी खबर
काठमाडौं । अविरल वर्षाका कारण बाढी र पहिरोले मनाङका सयौं घर डुबानमा परेका छन् । मनाङ सदरमुकाम चामेबजार वरिपरिका २ वटा खोलाको बहाव बढ्दा बुधबार बिहानसम्म आधा दर्जन बगाइसकेको छ भने बजारका बासिन्दाहरू विस्थापित भएका छन् ।
विभिन्न गाउँपालिका गरेर ६० घरभन्दा बढी डुबानमा र क्षतिग्रस्त हुन पुगेको जिल्ला प्रशासन कार्यालय मनाङ प्रमुख विष्णु लामिछानेले बताए । ‘जिल्लाभर कति घर क्षतिग्रस्त भएका छन् सबै तथ्यांक आउन बाँकी छ । अहिलेसम्मको जानकारीअनुसार धारापानीको इलाका प्रहरी कार्यालय र गाउँपालिकाको कार्यालय नै क्षति पुर्याएको छ,’ उनले भने।
प्रमुख जिल्ला अधिकारी लामिछानेले ताल गाउँमा ३० घर, चामेमा ४८, धारापानीमा २ सरकारी कार्यालयसहित १५ घर डुबानमा परेको जानकारी दिए । लगातारको वर्षातका बस्ती डुबानमा पर्दा विद्युत आपूर्तिसमेत बन्द भई मनाङका धेरै ठाउँ सम्पर्कविहीन बन्न पुगेको छ ।
अहिलेसम्म मानवीय क्षति नभए पनि मनाङमा ठूलो भौतिक क्षति पुगेको लामिछानेले बताए । भारी वर्षा भइरहेकै कारण काठमाडौंबाट उद्धारका लागि आउने भनिएको हेलिकप्टर पनि आउन नसकेको उनले जानकारी दिए ।
‘पानी नरोकिएकाले काठमाडौंबाट उद्धारका लागि पठाउने भनिएको हेलिकप्टर आउन सकेको छैन । हेलिकप्टर आयो भने केही सहज हुने अपेक्षा राखेका छौं,’ उनले भने, ‘हामी उद्धारका लागि हेलिकप्टरको प्रतीक्षामा छौं ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij