Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

भारतमा दोस्रो लहरको कोरोना संक्रमण निरन्तर ओरालो लाग्दै

भारतमा दोस्रो लहरको कोरोना संक्रमण निरन्तर ओरालो लाग्दै

  • 578
    SHARES
  • भारतमा दोस्रो लहरको कोरोना संक्रमण निरन्तर ओरालो लाग्दै

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमित भएकाहरुको संख्यामा कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार दुई सय २४ जना कोरोना भाइरसबाट थप संक्रमित भएका छन् । 

    यो संख्या अघिल्ला दिनहरुको भन्दा कम हुँदै गएको हो । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले ३.२२ प्रतिशतको दरले संक्रमण घटेको जनाएको छ । पछिल्लो नौ दिनमा औसतमा ९ प्रतिशतको दरले संक्रमितहरुको संख्यामा कमी हुँदै आएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

    त्यसैगरी सक्रिय अवस्थामा रहेका संक्रमितहरुको संख्या पनि घट्दै गएर अहिले आठ लाख ६५ हजार चार सय ३२ रहेको छ । सक्रिय संक्रमितहरुको संख्या घटेर ७० दिनपछि अहिले पहिलोपटक नौ लाखभन्दा कम भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा कोरोन भाइरसबाट संक्रमणमुक्त भएकाहरुको दर ९५.८० रहेको छ । भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या दुई करोड ९६ लाख ३३ हजार एक सय पाँच पुगेको मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म कुल तीन लाख ७९ हजार पाँच सय ७३ जनाको मृत्यु भएको देखिएको छ । ती मध्ये दुई हजार पाँच सय ४२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।  

    पछिल्लो एक दिनमा भारतमा एक लाख सात हजार छ सय २८ जना संक्रमणमुक्त भएको पाइएको छ । योसँगै संक्रमणमुक्त भएकाहरुको कुल संख्या दुई करोड ८३ लाख ८८ हजार एक सय रहेको छ । 

    भारतको स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा अहिलेसम्म कुल ३८ करोड ३३ लाख छ हजार सात सय ९१ पटक कोरोना परीक्षण गरिएको छ । त्यस्तै २६ करोड १९ लाखलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij