वेबटिभी खबर
बाग्लुङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ओखर खेतीका लागि अनुदान दिएपछि यहाँका किसानले परम्परागत खेती छाडेर ओखर खेती सुरु गरेका छन ।
जैमिनी नगरपालिका-३ को नौलाका गोपाल छन्त्यालले परम्परागतरूपमा मकै र कोदो लगाउँदा सोचेजस्तो फाइदा कमाउन नसकेको बताए । उनले मकै र कोदो लगाए पनि राम्रो उत्पादन नहुँदा मेहनत मात्रै खेर गएको बताए ।
स्थानीय प्रेमबहादुर छन्त्याल र खिमबहादुर छन्त्यालले पनि मकै र कोदो उत्पादनबाट फाइदा लिन नसकेपछि वैकल्पिक खेतीको जोहो गरेका थिए । उनीहरूले केही बारीमा आलु लगाउनु भएको थियो भने धेरै बारी बाँझो बन्न थालेको थियो ।
गाउँबाट शहर जाने, बसाइँ सर्ने, गाउँमा गोरु नपाउने, गाईभैँसी पाल्नेको कमी हुँदा मल कम भएकाले उत्पादन घटेको उनीहरूको भनाइ थियो ।
‘दैनिक स्याहार गर्ने खेतीपाती लगाउन नसकेकाले विकल्प खोज्दा ओखर खेती भेटियो । केही वर्षअघि परीक्षणका रूपमा लगाइएको ओखरले राम्रो फल दिएपछि ओखर खेती गर्ने योजना बनाएको हो’, प्रेमबहादुरले भने, ‘मेरो बारीमा भएका दुई वटा बोटमा लटरम्म फलेको छ । व्यावसायिकरूपमा खेती गर्दा फाइदा हुने देखिएपछि अहिले बिरूवा ल्याएर रोपेका छौँ ।’
प्रेमबहादुरका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बिरूवामा अनुदानमा दिएपछि दाजुभाइ मिलेर ओखर लगाएका हुन । यहाँका किसानले गठन गरेको ‘छन्त्याल कृषक समूह’मा आबद्ध भएका तीन भाईले एकसय रोपनी जमिनमा परियोजनाले उपलब्ध गराएको बिरूवा रोपेका छन ।
एक हजार दुई सय बिरूवा रोप्नका लागि १७ लाख खर्च भएको परियोजनाले जनाएको छ । खर्चमध्ये परियोजनाले १० लाख अनुदान दिएको र बाँकी रकम तीन भाइले खर्च गरेका परियोजनाका प्रमुख सुजित पौडेलले बताए ।
प्रमुख पौडेलका अनुसार बिरूवा रोप्न परियोजनाले अनुदान दिएको छ भने खाडल खन्ने, मल, घेराबारको सुरक्षा, सरसफाई र सिञ्चाइलगायत कामका लागि तीन भाइले सात लाख खर्च गरेका छन । परियोजनाले कृषि फसलको ब्लक र जोन बनाएर ओखर उत्पादनलाई जोड दिएको पौडेलको भनाइ छ ।
‘परम्परागत कृषिभन्दा फरक खेती गरेर धेरै उत्पादन आउने काममा हामीले साथ दिएका छौँ’, प्रमुख पौडेलले भने, ‘सात वर्षसम्म ती ब्लक र जोनमा समूह र व्यक्तिगत फार्ममा साथ दिने परियोजनाको योजना छ ।’
थप चार वर्ष प्राविधिक सहयोग गरेर व्यावसायिक बनाउने लक्ष्य राखेको उनले बताए । जुम्लाबाट झिकाइएका ओखरका बिरुवा रोपेर अहिले नौलाको बाँझिएको खरबारी र बस्न छाडेको घरबारीसमेत हरियाली भइसकेको छ । ओखरका बिरूवा तीन वर्षमा फल्न सुरु गर्ने जैमिनी नगरपालिकाका कृषि प्राविधिक रविन्द शर्माले जानकारी दिए ।
‘कलमी बिरूवा भएकाले यो वर्ष पनि एक/दुई दाना लागेको थियो, तर टिपेर फालिदिनु भनेका थियौँ’, रविन्द शर्माले भने, ‘तीन वर्षपछि मात्र फल राखियो भने गुणस्तरको फल्छ ।’ छन्त्याल समूहमा आबद्ध धेरै किसान छन ।
उनीहरूमध्ये तीन जनाले ओखर खेती सुरु गरेको राखिएको शर्माले जानकारी दिए । ‘अरु किसानमध्ये केहीले बाख्रा पालनमा र केहीले आलु खेतीमा अनुदान पाएका छन्’, रविन्द शर्माले भने । उनका अनुसार बाख्रामा परियोजनाले सहयोग गरेको छ भने आलुमा नगरपालिकाले लगानी गरेको हो ।
आलु खेतीका लागि नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिनुका साथै किसानको बीउ, बजारीकरणलगायत काममा नगरपालिकाबाट प्राविधिक सहयोग गरिरहेको नगरपालिकाले जनाएको छ ।
हाल लगाएको ओखरका एक हजार दुई सय बिरुवामध्ये एक/दुई वटा मात्र मरेको, सबै सरेर हरियाली बनिसकेकाले अरु बिरूवा पनि थप्ने योजना रहेको खिमबहादुर छन्त्यालले बताए । नौला गाउँको माथिल्लो बस्तीको जमिन ओखर खेतीका लागि उपयुक्त रहेको कृषि प्राविधिकको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij