वेबटिभी खबर
केप टाउन । दक्षिण अफ्रिकाको क्लाजुलु नेटल प्रान्तमा दुई दिनदेखि एक हजारभन्दा बढी व्यक्ति हीराको खोजीमा क्वालाठी गाउँ खन्दै छन् । सोमबार एक गोठालाले त्यस क्षेत्रमा हीरा जस्तो ढुंगा भेटाएका थिए ।
यो खबर गाउँभर फैलिएपछि त्यहाँका सबै मानिस हिरा भेटिने लोभमा खन्न सुरु गरेका हुन् । मानिसहरूले गाउँ र यसको वरपरका क्षेत्रहरु बेल्चा र कोदालोले खनिरहेका छन् । त्यस क्षेत्रमा हिरा खोज्नका लागि दक्षिण अफ्रिकाका विभिन्न ठाउँबाट मानिसहरु पुगेका छन् ।
त्यसरी खन्दा त्यहाँ केही व्यक्तिले हिराजस्तो ढुंगा पनि भेटे तर त्यो हिरा नभएको सिएनएनले लेखेको छ । विज्ञहरूले त्यसलाई क्वार्ट्ज क्रिस्टल भनिरहेका छन् ।
त्यहाँका स्थानीय व्यक्तिहरू बहुमूल्य पत्थरहरूले आफ्नो भाग्य चम्किने विश्वासमा गाउँ पुरै खन्न लागिरहेका छन् । मानिसहरुले त्यो क्रिस्टल ३०० रेन्डमा बेच्न पनि सुरु गरिसकेका छन् ।
दक्षिण अफ्रिकाको खानी विभागले सोमबार नमुना संकलन गरेर अध्ययन गर्नका लागि त्यस क्षेत्रमा भूगर्भीय र खानी विज्ञको टोली पठाउने बताएको छ । औपचारिक प्राविधिक प्रतिवेदन निर्धारित समयमा जारी गरिने विभागले भनेको छ ।
प्रान्तीय सरकारले कोरोना भाइरस फैलिन सक्ने त्रासका बीच विज्ञहरुलाई उचित निरीक्षण गर्न दिन साइटमा खनेका व्यक्तिहरुलाई अनुरोध गरिरहेको छ ।
सन् १९९४ मा रंगभेदको अन्त्य भएको दक्षिण अफ्रिकामा झन्डै तीन दशकपछि पनि असमानता, लामो बेरोजगारीको चरम अवस्था र लाखौं मानिस गरिबीको रेखामुनी रहेका छन् । अहिले फैलियाे काेराेना महामारीले त्यहाँकाे स्थिति थप बिग्रिएकाे छ ।


Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij