वेबटिभी खबर
संखुवासभा । संखुवासभाको हेवा खोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ ।
टाउको बाहेकको शरीर मात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए । चैनपुर नगरपालिका-११, दुम्कट्टामा बिहीबार साँझ शव फेला परेको संखुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
फेला परेको शव खाँदबारी जिल्ला अस्पतालमा शव परीक्षणका लागि ल्याइएको उनले बताए । फेला परेको शव पाँचखपन नगरपालिका-७ का ३३ वर्षीय भुवनसिं तामाङकी श्रीमतीले आफन्तको भएको जिकिर गरेपनि पुष्टि हुन सकेको छैन ।
बाढी पहिरोमा परेका अन्य १९ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढी पहिरोका कारण जिल्लाका विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन । बाढी पहिरोबाट विस्थापित भएका २० घरपरिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij