Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सामुदायिक वनमा जडीबुटी खेती

सामुदायिक वनमा जडीबुटी खेती

  • 303
    SHARES
  • सामुदायिक वनमा जडीबुटी खेती

    म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा सामुदायिक वन समूहले जडीबुटी खेती सुरुआत गरेका छन् ।

    पिउथिवा सामुदायिक वन उपभोक्ता समूहले गुर्जा नाइलीवाङको करिब १० रोपनी जमिनमा अतिस र सेदकचिनी (खिरौला) जातको जडीबुटी खेती गेका हुन् ।

    समूहका अध्यक्ष तुलसी छन्त्यालले डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा एक लाख ३५ हजार अतिस र खिरौलाका बिरुवा रोपेको जानकारी दिए ।

    समूहमा आबद्ध २५ जनाले सामूहिकरुपमा श्रमदान गरेर बाँझो जमिन खनजोत गरेर बिरुवा रोपेका हुन् । जडीबुटीको संरक्षणका लागि स्थानीय प्रविधिको प्रयोग गरेर ढुंगाको एक सय पाँच मिटर लामो पर्खाल निर्माण भएको छ ।

    डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले चालु आर्थिक वर्ष २०७९/८० मा जडीबुटी खेतीका लागि चार लाख असी हजार सहयोग गरेको जानकारी दिए ।

    उनले भने, ‘उपभोक्ताले कूल लागतको दश प्रतिशत लागत साझेदारी गरेका छन् । प्राकृतिकरुपमा रहेका जडीबुटी संरक्षण तथा व्यवस्थापन कार्यक्रममार्फत सहयोग गरिएको हो ।’

    यसअघि परीक्षणका लागि गरिएको जडीबुटी खेती सफल भएपछि व्यावसायिक खेति विस्तार भएको हो । 

    धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बाँझिएको खेतीयोग्य जमिनको सदुपयोग, संरक्षण र स्थानीयवासीको आयआर्जन सुधारका लागि जडीबुटी खेती विस्तार गरिएको जानकारी दिए ।

    उनले भने, ‘यसअघि गरिएको खेती सफल भयो । यहाँको भूगोल र हावापानी जडीबुटी खेतीका लागि अनुकूल छ । बाँझिएको खेतीयोग्य जमिनको संरक्षण र सदुपयोग पनि भएको छ ।’ 

    वि.सं २०७७ मा ७ हजार बिसजरा जातको जडीबुटीका बिरुवा रोपेका थिए । विसं २०७८ मा हिमाली कृषि सहकारी संस्थामा आबद्ध कृषकले दुई रोपनी जग्गामा अतिसका बिरुवा रोपेका थिए । बजारमा अतिस, खिरौला र बिसजराको माग उच्च छ ।

    समुद्री सतहदेखि तीन हजार दुई सयदेखि तीन हजार सात सय मिटरको भूगोलमा हुने अतिस कफ, पित्त थैली, ज्वरो, वान्ता हुने, पखला लाग्ने, चिसो लागेको समस्या समाधानका लागि प्रयोग हुन्छ ।

    यसले अपच हुने, शरीरको विभिन्न भागको दुखाइ, उत्तेजना नहुने, जुकाजस्ता समस्या समाधानको लागि पनि महत्वपूर्ण उपचार पद्धतिको रुपमा अतिस प्रयोग हुन्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij