वेबटिभी खबर
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ मा तीन सातादेखि मोबाइल सेवा अवरूद्ध हुँदा सञ्चार सेवा प्रभावित भएको छ । गाउँपालिका केन्द्र तापेथोक, साघु, फेम्बु, लेलेप हेल्लोकलगायत क्षेत्रमा सञ्चार सेवा अवरूद्ध भएको हो ।
मोबाइल सेवा बन्द हुँदा सूचना आदन-प्रदान ठप्प भएको स्थानीय रोशन लिम्बूले बताए । ‘अहिले बाढी पहिरोको गइरहेको छ, यस्तो अवस्थामा नेटवर्क नहुँदा सञ्चार सेवा नचल्दा समस्या भएको छ’, स्थानीय लिम्बूले भने ।
उनका अनुसार गाउँमा सञ्चार सेवा अवरूद्ध भएको तीन साता भइसकेको छ । ‘साँझ बिहान पानी परिहेको छ । बाढी पहिरोले कहाँ, कति क्षति गर्यो, कहाँ-कहाँ जोखिम बस्ती रहेको छ भन्ने विषयमा सूचना समेत पाउन नसकेको अवस्था छ’, स्थानीय लिम्बूले भने ।
फक्ताङलुङ गाउँपालिकामा बाहेक अन्यत्रका टावर भने सञ्चालनमै रहेको नेपाल दूरसञ्चार कार्यालय ताप्लेजुङका सूचना अधिकारी सुदीपकुमार महतोले बताए ।
‘ताप्लेजुङका टावर सबै राम्रो अवस्थामा छन् । फक्ताङलुङको मुरिङलामा रहेको टावरमा मात्रै समस्या देखिएको हो, टावरमा देखिएको समस्या समाधानका इलाम कार्यालयबाट प्राविधिक टोली आउनुपर्ने हुन्छ’, सूचना अधिकारी महतोले भने ।
उनका अनुसार पाँचथरको हेवाखोलामा पुल निर्माण भएपछि इलामबाट प्राविधिक आउने जानकारी प्राप्त भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij