Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

लागु औषधको सेवन र ओसारपसारको डरलाग्दो रूप

लागु औषधको सेवन र ओसारपसारको डरलाग्दो रूप

  • 249
    SHARES
  • लागु औषधको सेवन र ओसारपसारको डरलाग्दो रूप

    सुदूरपश्चिम । लागुऔषध मुद्दामा कैलाली कारागारमा रहेका छोरालाई हालै भेट्न पुगेकी धनगढीकी कमला अवस्थीको साथबाट प्रहरीले केही दिनअघि लागुऔषध बरामद गर्यो ।

    छोरा ओमप्रकाशलाई भेट्न पुगेकी कमलालाई जाँच गर्ने क्रममा फेला परेको बिस्कुटको पाकेटभित्र लुकाइ राखेको अवस्थामा प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो ।

    ओमप्रकाशकी पत्नी पनि लागुऔषधकै मुद्दामा कारागारमा रहेकी छन् । यसैगरी कैलाली कारागारमै कैद भुक्तान गरिरहेका धनगढीका करन बमलाई भेट्न पुगेका आफन्त भीम बोगटीलाई पनि सेम्पुको डब्बाभित्र लागुऔषध लुकाएर लैजान लागेको अवस्थामा पक्राउ गरिएको थियो ।

    पछिल्ला महिनामा लागुऔषधको सेवन, ओसारपसार रोकथामका लागि यो भित्रिन सक्ने सम्भावित ठाउँको निगरानीमा प्रहरीले आफ्नो सक्रियता बढाउँदै यसको जालो तोड्ने प्रयास प्रहरीले गरिरहेको छ । यसमा संलग्न हुने विभिन्न ठाउँबाट लागुऔषधसहित धमाधम पक्राउ पर्न थालेका छन् ।

    यी घटनाले लागुऔषधको ओसारपसार र सेवन समाजमा डरलाग्दो रुपमा फैलिरहेको देखाउँछ । समाजमा हुने गरेका अधिकांश आपराधिक घटनामा लागुऔषध सेवनकर्ताको कुनै न कुनैरुपले संलग्नता देखिँदा सुरक्षा चुनौती पनि थपिएको प्रहरीको भनाइ छ ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले भने, ‘बढी सङ्ख्यामा १६ देखि २२ वर्ष उमेर समूहका युवायुवती यस्तो कुलतमा फस्ने गरेको पाइएको छ । चोरी, लुटपाट, झैँझगडाजस्ता घटना र कतिपय हत्या घटनामा समेत लागुऔषध सेवनकर्ताको संलग्नता रहने गर्दा सुरक्षा चुनौती थपिएको छ ।’

    नेपाल-भारतबीचको खुला सिमानाको फाइदा उठाउँदै यसको ओसारपसार गर्न सहज भइरहेको बताए । सीमापारि भारतीय बजारमा त्यहाँका व्यापारीले निर्वाधरुपमा लागुऔषध बेचबिखन गर्ने गरेको कारण यसको उपलब्धता सहज भइरहेको बताइन्छ ।

    अभिभावकको उचित संरक्षण एवं रेखदेख नपाएकै कारण कतिपय युवायुवती आफ्ना साथीभाइको लहैलहमा लागेर लागुऔषधको कुलतमा फसिरहेको देखिएको छ ।

    घरपरिवारको बिग्रेको आन्तरिक माहोल, सञ्चार प्रविधिको दुरुपयोगले पनि धेरै व्यक्ति दुव्र्यसनीको सिकार भइरहेको पाइन्छ । 

    कतिपय परिवारका अभिभावकले आफ्ना छोराछोरीसँग गर्ने गलत बानी व्यवहारका कारण पनि लागुऔषधको समस्या बढेको देखिएको प्रहरीको अध्ययनले देखाएको छ ।

    युवायुवती लागुऔषध दुव्र्यसनको सिकार भइरहँदा पनि सम्बन्धित अभिभावक भने बेखबरजस्तै देखिँदा यो  समस्या रोकथाम जटिल बन्दै गएको प्रहरीको भनाइ छ ।

    प्रदेश प्रहरी कार्यालयको तथ्यांकले बर्सेनि लागुऔषध मुद्दा दर्ता हुने संख्या बढ्दै गएको देखाएको छ । आर्थिक वर्ष २०७६/७७ मा लागुऔषधका एकसय ७१ मुद्दा दर्ता भएकोमा आव २०७७र७८ सम्म आइपुग्दा यो संख्या बढेर दुई सय ५३ पुगेका थिए ।

    यस्तै आव २०७८/७९मा  तीन सय ५३ मुद्दा दर्ता भएकोमा चालु वर्ष २०७९/८०को गत ११ महिनामा यो सङ्ख्या झण्डै चार सय ९१ पुगेको छ  ।

    पछिल्लो ११ महिनामा दर्ता भएका मुद्दामा सबैभन्दा बढी एक सय ६८ जना १६ देखि २० वर्ष उमेर समूहका युवायुवती छन् ।

    प्रदेशभरिका प्रहरी कार्यालयका थुनुवा कक्षमा विभिन्न अपराधमा हाल रहेका दुई सय ६७ थुनुवामध्ये एक सय ३७ जना लागुऔषधसम्बन्धी मुद्दाका छन् ।

    उनीहरुमाथि थप अनुशन्धान गरी मुद्दा चलाउने प्रक्रिया चलिरहेको छ ।

    प्रहरी उपरीक्षक चौधरीले भने, ‘यो उमेर समूहका युवायुवतीको दिनचर्याको निरन्तर निगरानी गर्नमा अभिभावक, प्रहरी निकाय, शिक्षक सबैले गम्भीर हुनुपर्ने देखिएको छ । यसबाहेक लागुऔषधको उत्पादन हुने स्थल, सञ्चित गर्ने ठाउँ, आपूर्ति गरिने क्षेत्रलाई ‘डिस्ट्रवाइ’ गर्न अति आवश्यक छ ।’

    दुर्व्यसनीको कुलतमा लागेकाले समूहगत रूपमा वा एक्लाएक्लै भएपनि एकान्त ठाउँको खोजी गरी टिपेक्स सुँघ्ने, गाँजा, चरेश, ब्राउन सुगर, ट्याब्लेटजस्ता कडा खालको लागुऔषध सेवन गरिरहेको बताइएको छ ।

    यस्ता लागुऔषधले धित नमर्ने अवस्था भएमा कुलतमा फसेका कतिपय युवाले सुईको माध्यमवाट टिटी जेसिक, नर्फिन, फेनारगनजस्ता कडा खालको लागुऔषध प्रयोग गर्ने गरेको पाइन्छ ।

    यस्तो लतमा सबै वर्ग समुदायका युवायुवती लागेको देखिन्छ । कतिपयले समाजमा बदनाम हुने डरले आफ्ना छोराछोरीको यस्तो आनीबानी लुकाउने गरेको पनि देखिन्छ ।

    यो समस्या समस्या समाधानको प्रयासस्वरुप प्रदेश प्रहरी कार्यालयले धनगढी उपमहानगरपालिकासँग समन्वयमा उपमहानगर क्षेत्रको फूलबारीमा दुई सय जना अट्ने क्षमताको सुधार केन्द्र स्थापनाको पहल थालेको छ ।

    कानुनी कारबाहीले मात्रै यो समस्या समाधान सम्भव नदेखिँदा कुलत हटाउन नियमितरुपमा ध्यान केन्द्र र सुधार केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता महसुस गरेर यो केन्द्र स्थापनाको पहल गरिएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # लागुऔषध

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij