वेबटिभी खबर
काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले हाल कायम रहेको नेपाली सेनाको संख्या घटाउने सन्दर्भमा नेपाल सरकारको कुनै पनि सोच नभएको स्पष्ट पारेका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को छलफलका क्रममा सांसदहरूले उठाएका विभिन्न प्रश्नहरूको जवाफ दिने क्रममा उनले भने, ‘मुलुकको आवश्यकता, तत्कालीन परिस्थिति, मुलुक र अन्तर्राष्ट्रिय परिवेशका आधारमा नेपाली सेनाको संख्या निर्धारण भएको हो । भविष्यमा पनि सोही सिद्धान्तका आधारमा संख्या निर्धारण हुनेछ ।’
रक्षामन्त्री खड्काले हाल नेपाली सेना विभिन्न काममा पूर्णरूपमा जिम्मेवारीका साथ सक्रियरूपमा लागेको स्पष्ट पारे । नेपाली सेनाको संख्यालाई उच्चतम उपयोग गरी मुलुकको विकास र उन्नति तथा प्रगतिमा खटाइएको उनको भनाइ छ ।
उनले भने, ‘नेपाली सेना, संविधान, प्रचलित कानून तथा अन्तर्राष्ट्रिय मापदण्ण्डअनुरूप सीमा सुरक्षा एवं भौगोलिक अखण्डता रक्षाका कार्यमा सदैव क्रियाशील रहेकोप्रति सबैलाई अनुरोध गर्न चाहन्छु ।
कुनै पनि देशको सेनाको संख्या उक्त देशको भौगोलिक अवस्था, राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय परिवेश र समय-समयमा मुलुकको आवश्यकताअनुसार निर्धारण हुने गर्छ ।’
उनले नेपाली सेनाको संख्या राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा नेपाल सरकारको निर्णयबमोजिम निर्धारण हुनेसमेत स्पष्ट पारे । साथै नेपाली सेनाले संविधान तथा अन्य कानूनले दिएको जिम्मेवारी, सरकारले समय-समयमा दिने जिम्मेवारी, अन्तर्राष्ट्रियस्तरमा शान्ति स्थापनाका गर्ने कार्यलगायत विभिन्न जिम्मेवारीमा पनि प्रभावकारी र जिम्मेवारपूर्वक निर्वाह गरेको बताए ।
उनले भने, ‘सृष्टि रहेसम्म हाम्रो देश रहन्छ । त्यो बेलासम्म हाम्रो मुलुकको रक्षाका लागि, भौलोगिक अखण्डताका लागि, सीमा रक्षाका लागि नेपालीसँगै नेपाली सेना पूर्णरूपमा प्रतिबद्ध छ । प्रतिकूल अवस्थालाई अनुकूलतामा परिणत गर्दै नेपाली सेनाले आफ्नो भूमिका अत्यन्तै अनुशासितरूपमा निर्वाह गर्दै आएको छ ।’
उनले नेपाली सेनाको दरबन्दी ९६ हजार चार सय ७७ भए पनि हाल ८१ हजार दुई सय ७७ संख्या कायम भएको बताए । तीमध्ये ७४ हजार पाँच सय पाँच पुरुष र छ हजार सात सय ७२ महिला रहेको उनको भनाइ छ ।
हाल कायम रहेको नेपाली सेनालाई दुई वटा प्रमुख काममा जिम्मेवारी दिइएको उनले सुनाए । उनका अनुसार ४० हजार दुई सय सात जनालाई शान्ति सेना, विभिन्न तालिम प्रदान, विपद् व्यवस्थापन तथा र विकास निर्माणका क्षेत्रमा खटाइएको छ भने बाँकी ४१ हजार ७० जनालाई सञ्चालन र ड्युटीलगायतमा खटाइएको छ ।
उनले नेपाली सेनालाई भौतिक पूर्वाधार निर्माण, वातावरण तथा प्रकृति संरक्षण र विपद् व्यवस्थापनमा पनि खटाइएको बताए । अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि पनि नेपाली सेनाले प्रमुख भूमिका खेलेको उनको भनाइ छ ।
रक्षामन्त्री खड्काले भने, ‘नेपाली सेना विश्वका कुनै पनि भागमा संयुक्त राष्ट्रसंघको छातामुनि रहेर द्वन्द्वरत मुलुकमा शान्ति स्थापनाका लागि निकै ठूलो भूमिका निर्वाह गरेको छ । शान्ति स्थापना भएका देशमा नेपाली सेनाप्रति त्यहाँका जनताले देखाएको विश्वास र अपनत्व गौरव गर्न लायक छ, यसको मनोवैज्ञानिक प्रभाव विश्वभर परेको छ ।’
रक्षामन्त्री खड्काले नेपाली सेना विश्वमा शान्ति स्थापनाका दृष्टिले संख्याका रूपमा दोस्रो र प्रभावकारीताका हिसाबले अब्बल रहेको बताए ।
उनले सेनाको व्यवस्थापनका सन्दर्भमा बंकरबाट ब्यारेकसम्म अभियानअन्तर्गत हालसम्म पाँच हजार आठ सय ५० ब्यारेक निर्माण गर्नुपर्नेमा तीन हजार सात सय २२ ब्यारेक निर्माण भइरहेको बताए ।
उनले यसका लागि आगामी आवमा दुई अर्बको हाराहारीमा बजेट विनियोजन गरिएको समेत बताए । रक्षामन्त्री खड्काले तराई मधेस दु्रतमार्ग निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको उल्लेख गर्दै २०८३ चैत मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढेको जानकारी दिए ।
उनले भने, ‘कोरोना महामारीलगायतका कारण फास्ट ट्र्याक निर्माणमा ढिलाइ भएको हो, अहिलो निर्माण तीव्र गतिमा अगाडि बढाइएको छ, २०८३ चैत मसान्तभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij