वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटासहितको टोलीले भोटेकोशी र ईन्द्रावती नदीको संगमस्थल काभ्रेको दोलालघाट क्षेत्रको स्थलगत निरीक्षण गरेकाे छ । तामझामसहित बाढी प्रभावित क्षेत्रमा पुगेका बाँस्काेटाले राहतका लागि सरकारकाे ध्यानाकर्षण गराए पनि समस्यामा परेका स्थानीयलाई केही पनि राहत दिएनन् ।
विघटित प्रतिनिधिसभामा काभ्रेबाट विजयी सांसद बाँस्कोटासहित प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, बागमती प्रदेशका सांसद लक्ष्मण लम्साल, भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्यव कुँवर, उपाध्यक्ष कल्पना श्रेष्ठको टोलीले बाढीले क्षति पुर्याएको भुम्लु गाउँपालिका वडा नम्बर ८ स्थित पुरानो बजार क्षेत्रको पनि निरीक्षण गरेकाे थियाे ।
नदी छेउमा घर भएका कारण पानी पर्न थालेदेखि दुई/तीन दिनदेखि यहाँका मानिस घर छाडेर बाहिरै बस्दै आएका र बुधबार राति आएको ठूलो बाढीले बस्ती नै डुबानमा परेपछि सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा सामान अन्यत्र सारेको पीडित सुदर्शन रायले बताए ।
दुवै नदीमा बाढी आएको र पछिल्लो समयमा इन्द्रावती नदीले बगर क्षेत्रलाई कटान गर्दै भोटेकोशी नदीलाई धकेलेपछि झन् बस्ती भएकोतिर बहाव बढेर घर एक तलासम्म पुरिएको छ । पूर्वमन्त्री बाँस्कोटाले बाढी पहिरोपीडितको तत्काल उद्धार गर्दै राहत वितरणका लागि सरकारको ध्यानाकर्षण गराए ।
प्रमुख जिल्ला अधिकारी र प्रदेश सांसदसहितको टोली लिएर बाढीपीडिको अवस्था बुझ्न गएका बाँस्कोटाले पीडितहरुलाई राहत भने केही पनि वितरण गरेनन् । राहतकाे पर्खाइमा रहेका पीडितहरूले आश्वासन बाहेक केही पनि नपाएकाे गुनासाे गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij