Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

वीरगञ्जस्थित दुवै भन्सार कार्यालयको राजस्व संकलन घट्यो

वीरगञ्जस्थित दुवै भन्सार कार्यालयको राजस्व संकलन घट्यो

  • 221
    SHARES
  • वीरगञ्जस्थित दुवै भन्सार कार्यालयको राजस्व संकलन घट्यो

    काठमाडौं । पर्साको वरिगञ्जस्थित दुवै भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेनन् ।

    वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९।०८० मा लक्ष्यको ६० प्रतिशत र  सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले ६२ प्रतिशत मात्र राजस्व संकलन गरेका छन् ।

    आर्थिक वर्ष २०७९/०८० मा दुई खर्ब ६० अर्ब ९७ करोड दुई लाख आठ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ६० दशमलव २० प्रतिशत अर्थात् रु एक खर्ब ५७ अबै आठ करोड मात्र राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख डिलाराम पन्थीले जानकारी दिए ।

    यो अघिल्लो दुई आर्थिक वर्षको भन्दा कम राजस्व संकलन भएको हो । सो भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको ९३ प्रतिशत र आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यको ९७ प्रतिशत राजस्व संकलन गरेको थियो ।

    आव २०७९/८० मा लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्नुमा आर्थिक तरलता प्रमुख कारक रहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत ढकालको भनाइ छ ।

    विश्वव्यापीरूपमा देखिएको आर्थिक मन्दी, पेट्रोलियम पदार्थ, नयाँ सवारीसाधन र औद्योगिक कच्चापदार्थको आयातमा आएको कमीले राजस्व संकलन घटेको कार्यालय प्रमुख पन्थीले बताए ।

    यस्तै पर्साको सिर्सिया सुक्खा बन्दगाह भन्सार कार्यालयले पनि आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको ६२ दशमलव ८८ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ ।

    आर्थिक वर्ष २०७९/८० मा रु ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ४२ अर्ब ४० करोड २२ लाख ९२ हजार मात्र राजस्व सङ्कलन भएको सिर्सिया सुक्खा बन्दगाह भन्सार कार्यालय प्रमुख रामप्रसाद मैनालीले जानकारी दिए ।

    सो भन्सारले अघिल्लो आव २०७८/७९ मा लक्ष्यको ९४ दशमलव ९८ प्रतिशत राजस्व संकलन गरेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij