वेबटिभी खबर
बाँके । भारतसँग सीमा जोडिएको नेपालगञ्ज उपमहानगरपालिकामा डेंगु रोगविरुद्ध उच्च सतर्कता अपनाइएको छ ।
उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले अहिलेसम्म नेपालगञ्जमा कसैलाई पनि डेंगु पुष्टि नभएको उल्लेख गर्दै सीमापारि र अन्य जिल्लामा देखिएकाले उच्च सतर्कता अपनाइएको जानकारी दिए ।
महाशाखाले मलेरिया र डेंगु फैलिन नदिनसमेत सचेत भएकाले नेपाल–भारत जमुनाहा नाकामा ज्वरोका बिरामी भेटिएमा परीक्षण गरेर भित्रिन दिइएको तथा उपमहानगरमा सचेतनामूलक अभियान पनि चलाइएको जनाएको छ ।
उनले एकजनामा मलेरिया देखिएकाले नेपाल-भारत नाकालगायत उपमहानगरका विभिन्न स्वास्थ्य संस्थामा ज्वरोका बिरामीको मलेरिया र डेंगु परीक्षण गर्न थालिएको बताए । प्रमुख चन्दले सो रोगको लक्षण र प्रभाव पारे सर्वसाधारणलाई सचेत पार्ने कार्य पनि भइरहेको जनाए ।
भारतलगायत नेपालका विभिन्न जिल्लामा डेंगुका बिरामी देखिन थालेपछि उपमहानगरपालिकाले उक्त रोगविरुद्धको सचेतना अभियान सञ्चालन गरेको उपमहानगरका उपप्रमुख कमरुद्दिन राईले बताए ।
उनले डेंगु भित्रिन नदिन तथा नियन्त्रणका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको जानकारी दिए । स्वास्थ्य कार्यालय बाँकेले डेंगु रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने तथा सर्वसाधारणलाई सचेतना जगाउने अभियान सुरु गरिएको जनाएको छ ।
सो कार्यालयले उक्त रोगविरुद्ध उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij