Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

लम्पी स्किनले गोरु मरेपछि किसानलाई खेत जोत्न समस्या

लम्पी स्किनले गोरु मरेपछि किसानलाई खेत जोत्न समस्या

  • 178
    SHARES
  • लम्पी स्किनले गोरु मरेपछि किसानलाई खेत जोत्न समस्या

    तनहुँ । तनहुँमा लम्पी स्किन रोगका कारण गोरु मरेपछि कृषकलाई खेत जोत्न समस्या भएको छ । धान रोपाइँको चटारोका बीचमा सो रोगबाट गोरु मरेपछि कृषकलाई समस्या भएको हो ।

    जिल्लाका दशवटै पालिकाका चार हजार एक सय ७६ पशुमा लम्पी स्किन रोग फैलिएकामा ४७ पशु मरेका छन । यसमध्ये ४३ गोरु रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा.बालकुमार श्रेष्ठले जानकारी दिए ।

    प्रमुख डा.श्रेष्ठले भने, ‘खेतीपातीको समयमा गोरु मर्दा कृषकलाई खेत जोत्न समस्या भएको छ । गोरुको विकल्प ट्याक्टर भए पनि कतिपय किसानले ट्याक्टर किन्न सक्ने अवस्था छैन ।’

    उनका अनुसार लम्पी स्किन संक्रमण भएकै अवस्थामा काममा लगाउँदा त्यसैका कारण पशुको मृत्यु भएको हुनसक्ने देखिएको छ । ‘लम्पी स्किन संक्रमण हुँदैमा मृत्यु हुने होइन, बिरामी भएको अवस्थामा काम गर्नुपर्दा पशुलाई गाह्रो भएर मृत्यु भएको देखिएको छ’, प्रमुख डा.श्रेष्ठले भने ।

    लम्पी स्किनविरुद्ध जिल्लामा दश हजार पाँच सय पशुलाई खोप लगाइसकिएको छ । स्थानीय तहको समन्वयमा लम्पी स्किन संक्रमणबाट बचाउन दश हजार पाँच सय स्वस्थ पशुलाई खोप लगाइएको श्रेष्ठले जानकारी दिए ।

    प्रमुख डा.श्रेष्ठले भने, ‘यो खोप संक्रमित भएको पशुलाई नभई संक्रमण नभएका पशुलाई रोगबाट बचाउन लगाउने हो ।’ सबैभन्दा बढी व्यास नगरपालिकाका पशुलाई खोप लगाइएको छ । व्यासमा तीन हजार पशुलाई खोप लगाइएको कार्यालयले जनाएको छ । खोप लगाउनका लागि स्थानीय तहले आफैँ खरिद गरेका थिए ।

    नगरपालिकाले कृषकको गोठमै पुगेर खोप लगाइदिएको नगरपालिकाका पशुपन्छी विकास उपशाखा प्रमुख डा.मनोज विश्वकर्माले जानकारी दिए ।

    पशुमा पूर्ण खोप कार्यक्रमअन्तर्गत नगरपालिकाको वडामा खोपकर्ताको रुपमा खटिएका भेटेरिनरी प्राविधिकलाई पुनः यस आकस्मिक अवस्थामा खोप लगाउन परिचालित गरिएको उनले बताए ।

    उक्त रोगबाट धेरैजसो व्यास नगरपालिका-१ चारकुने, व्यास नगरपालिका-१३ बेलबास, पोखरीभज्याङ, व्यास नगरपालिका-११ फराकचौर र व्यास नगरपालिका-७ मा गाईभैँसी संक्रमित भएका थिए ।

    जिल्लाको म्याग्दे गाउँपालिकाले दुई हजार गाईभैँसीलाई उक्त खोप लगाएको छ । गाउँपालिकाले सातवटै वडामा पालिएका पशुलाई खोप लगाएको पशु सेवा शाखा प्रमुख डा.विनय शाहको भनाइ छ ।

    उनका अनुसार पहिलो चरणमा दूध उत्पादन धेरै हुने वडाका पशुलाई प्राथमिकतामा राखेर खोप लगाइएको हो । शाखा प्रमुख डा.विनय शाहले भने, ‘व्यावसायिक रुपमा गाईभैँसीपालन गरिएका र दूध उत्पादन बढी गर्ने कृषकको गोठमै पुगेर खोप लगाएका छौँ ।’

    पहिलो चरणमा दुई हजार खोपको मात्रा आएकाले सोहीअनुसार खोप लगाइएको र आवश्यक परे थप खोप खरिद गरिनेछ । भानु नगरपालिकाका केही ठाउँमा भने कृषकले पशुलाई यो खोप लगाउन आनाकानी गरेका छन । अन्य पालिकामा भने सहजरुपमा खोप लगाइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij