वेबटिभी खबर
बाँके । बाँकेमा गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६० घरेलु तथा साना उद्योग बन्द भएका छन ।
कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको संख्या कम रहेपनि नवीकरण हुन नसकेका एक सय ६० उद्योग खारेजीमा परेको जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख रमेशबहादुर बुढाथोकीले बताए ।
उनका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेका छन । उद्योग व्यवसाय बन्द गराउँदा उद्योगी व्यवसायीले आफ्नो घरायसी कारण देखाउने गरेका उनको भनाइ छ ।
कोभिड-१९ को असर, बैंकको ब्याज वृद्धि हुनु, आर्थिक तरलतालगायत कारणले उद्योग तथा वाणिज्य फार्म बन्द हुनेक्रम बढेको नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।
उनका अनुसार यसरी व्यवसाय बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली भएका छन । कैयौँ उद्योगी व्यवसायी नेपालगञ्जबाट विस्थापित भएको उनको भनाइ छ ।जिल्लामा नयाँ उद्योग दर्ता गर्नेको संख्या पनि गत आर्थिक वर्षमा घटेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा एक हजार सात सय १२ नयाँ उद्योग दर्ता भएकोमा आर्थिक वर्ष २०७९/८० मा जम्मा आठ सय ७६ मात्र नयाँ उद्योग दर्ता भएका निमित्त प्रमुख बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार गत आवमा कृषि तथा वनजन्यतर्फ तीन सय ६५, उत्पादनमूलक एक सय ४०, पर्यटन सम्बन्धी एक सय ३२ र सेवामूलक दुई सय ३९ गरी कूल आठ सय ७६ उद्योग दर्ता भएका छन ।
गत आवमा तीन सय १४ उद्योग नवीकरण भएका निमित्त प्रमुख बुढाथोकीले बताए । नयाँ उद्योग दर्ता तथा नवीकरणबापत ८५ लाख ३० हजार एकसय ५० राजस्व संकलन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij