वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालबालिकाका लागि विद्यालयमा सञ्चालन गरिएको ‘दिवा खाजा कार्यक्रम’ नेपालमा सफल भएको बताएका छन् ।
सो कार्यक्रमबाट हरेक दिन देशभरका बालबालिका प्रत्यक्ष रुपमा लाभान्वित भइरहेको तथ्य पेस गर्दै प्रधानमन्त्री दाहालले त्यस कार्यक्रमलाई निरन्तरता दिन सरकारले पछिल्लो पाँच वर्षमा चार गुणा बजेट वृद्धि गरेको जानकारी गराए ।
खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम-२०२३ स्टकिङ मोमेन्ट’ लाई आज सम्बोधन गर्दै उनले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारका लागि प्रभावकारी भएको स्पष्ट पारे ।
सो कार्यक्रमबाट प्रत्यक्ष रूपमा ३३ लाख बालबालिका प्रत्यक्ष रूपमा लाभान्वित भएको तथ्यांकसमेत प्रधानमन्त्री दाहालले पेस गरे ।
उनले भने, ‘विद्यालय खाजा कार्यक्रम नेपालको एउटा सफल कार्यक्रम हो । यसबाट नेपालमा हरेक दिन ३३ लाख विद्यार्थी लाभान्वित भइरहेका छन् । फलस्वरूप विद्यार्थी भर्नामा वृद्धि, नियमित उपस्थिति र शैक्षिक सुधारजस्ता उपलब्धि हासिल भएको छ ।’
सो कार्यक्रमलाई एकीकृत रूपमा कृषि, शिक्षा, खाद्य सुरक्षा, पोषण, स्वास्थ्य र सरसफाइसँग जोडिएको प्रधानमन्त्री दाहालको भनाइ छ ।
उनले चालु आर्थिक वर्षको शिक्षा तर्फको बजेटको कूल ६ प्रतिशत दिवा खाजाका लागि वृद्धि गरिएको उल्लेख गरे । उनले सन् २०२१ को खाद्य सम्मेलनपछि नेपालले स्थानीयस्तरसम्म खाद्य प्रणालीका बारेमा छलफल चलाएको एवं सन् २०२२ देखि २०३० सम्मका लागि खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना तय गरेको जानकारी दिए ।
खाद्य प्रणालीको रूपान्तरण खाद्य सुरक्षाका लागि मात्र नभई दिगो विकास लक्ष्यको पूर्ण प्राप्तिका लागि महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।
संयुक्त राष्ट्र संघले सन् २०२१ मा आयोजना गरेको फुड सिस्टम समिटले तय गरेको विधिअनुसार राष्ट्रिय र प्रदेश तहका सरोकारवालाहरूका बीचमा खाद्य प्रणालीका बारेमा बुझाउन, कमजोरी पत्ता लगाउन र त्यसलाई रुपान्तरण गरी नयाँ मार्ग प्रशस्त गर्न सहयोग पुगेको प्रधानमन्त्री दाहालले बताए ।
सरकारले सोही आधारमा खाद्य प्रणाली रुपान्तरण रणनीतिक योजना तय गरेर कार्यान्वयनमा ल्याइएको र त्यसलाई दिगो विकास लक्ष्यसँग जोडिएको उनले बताए ।
स्थानीय सरकारको क्षमतालाई सुदृढ गर्दै सो कार्यक्रम कार्यान्वयन र अनुगमनका लागि जिम्मेवारी प्रदान गरिएको प्रधानमन्त्री दाहालले जानकारी दिए ।
दिवा खजा कार्यक्रमले विद्यार्थीको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने, स्वास्थ्य, शैक्षिक क्रियाकलापमा गुणात्मक परिवर्तन ल्याउने भएकाले यसका प्रयासहरूलाई दोब्बर बनाउनुपर्ने स्पष्ट पारे ।
उनले भने, ‘विद्यालयको खाना यस्तो क्षेत्र हो जसले रूपान्तरणमा ठूलो प्रभाव पार्छ ।’ सन् २०२० को सुरुआतीमा संसारका धेरै बालबालिकाले विद्यालय भोजनको सहज पहुँच प्राप्त गरेको भए पनि कोभिड-१९ का कारण विश्वव्यापी रूपमा आपूर्ति शृङ्खलामा आएको अवरोध, वित्तीय क्षेत्र खस्कँदा समस्या पैदा भएको प्रधानमन्त्री दाहालको भनाइ छ ।
पुरानै अवस्थामा फर्कनका लागि सम्पन्न र विकसित देशले साना र अल्पकविकसित मुलकहरूको शैक्षिक सुधारका लागि दिवा खाजा कार्यक्रमलाई प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए ।
दिवा खाजा कार्यक्रमले विद्यार्थीको स्वास्थ्य, शैक्षिकका साथसाथै उनीहरूको समग्र विकास क्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले अति कम विकसित र अल्पविकसित मुलुकका विद्यार्थीले विद्यालय छाड्ने दरमा कमी ल्याउनका लागि पनि सो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको औँल्याए ।
सन् २०२६ सम्म नेपाल विकासोन्मुख देशका रुपमा स्तरोन्नति हुने क्रममा रहेको जानकारी दिँदै उनले विद्यालयमा पोषणयुक्त खानेकुराको सुनिश्चिता गर्नु आवश्यक रहेको र त्यसका लागि स्थानीय खाद्य सामग्रीको उत्पादन र विविधकरणमा जोड दिएको बताए ।
स्थानीय रूपमा साना स्तरका कृषि विकास कार्यक्रमलाई अगाडि बढाइ विद्यार्थीको स्वास्थ्य, पोषण र शिक्षामा सुधार ल्याउनका लागि सहयोग गरिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।
उनले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्नका लागि हाम्रा खाद्य प्रणालीको रुपान्तरणका लागि संयुक्त राष्ट्रसङ्घीय प्रणाली, विकास साझेदार र सरोकारवाला निकायहरूको पूर्ण सहयोग र प्रतिबद्धताको प्रसंशा गरे ।
प्रधानमन्त्री प्रचण्डले बालबालिकाका लागि दिगो भविष्य, गुणस्तरीय शिक्षा, पोषणयुक्त खानेकुरा उपलब्ध गराउने रुपान्तरणकारी यात्राका लागि हामी सबैले होस्टेमा हैंसै गर्दै अगाडि बढ्न आह्वान गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij