वेबटिभी खबर
ब्राजिलिया । ब्राजिलमा कोरोना भाइरसबाट विश्वमै सबैभन्दा प्रभावित देशको सूचीमा तेस्रो स्थानमा छ । संक्रमणको हिसाबले अमेरिका र भारतपछि रहेको ब्राजिल मृत्युदरका आधारमा अमेरिकापछि दोस्रो स्थानमा छ ।
ब्राजिलमा संक्रमणकै कारण मृत्यु हुनेको संख्या पाँच लाख नाघेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । शनिबार दुई हजार दुई सय ४७ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच लाख आठ सय ६८ पुगेको छ ।
ब्राजिलमा दैनिक संक्रमण अहिले विश्व मै सबैभन्दा धेरै छ । त्यहाँ हरेक दिन ८० हजार आसपासमा संक्रमित भेटिइरहेका छन् ।
कोरोना भाइरसको संक्रमण सुरु भएयता ब्राजिलमा हालसम्म एक करोड ७८ लाख जनाभन्दा बढीमा संक्रमण भएको बताइएको छ ।
यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र एक लाख जनाभन्दा बढी नागरिकको ज्यान गएको छ । त्यसैगरी उक्त राज्यमा करिब ४० लाखभन्दा बढी नागरिक कारोना भाइरसबाट संक्रमित भएका छन् ।
यहाँ केही महिना यतादेखि नै कोरोनाका विरुद्धको खोप लगाउने व्यापक अभियान नै सञ्चालन गरिएको छ । तर एकै दिनमा यो नै सबैभन्दा बढी खोप लगाइएको बताइएको छ ।
ब्राजिलमा अहिलेसम्म यहाँका आठ करोड ४० लाख मानिसले पहिलो खोप लगाएका छन् भने ६ करोड भन्दा बढीले दोस्रो मात्रा खोप पनि लगाएका छन् । ब्राजिलले यही वर्षको जनवरीदेखि यहाँका नागरिकलाई कोरोना विरुद्धको खोप दिन थालेका हुन् ।
त्यहाँ काेराेना महामारी नियन्त्रण गर्न असफल भएकाे भन्दै सरकार प्रमुख जयर बाेल्साेनाराेविरूद्ध विराेध प्रदर्शन भइरहेकाे छ भने अर्काेतर्फ विवादका बावजुद दक्षिणी अमेरिकी फुटबल च्याम्पियनसिप काेपा अमेरिकाका खेलहरू पनि भइरहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij