वेबटिभी खबर
तनहुँ । व्यास नगरपालिकाले विपन्न वर्गका व्यक्तिले पक्की घर बनाउँदा घरको नक्सा निःशुल्क निर्माण गरिदिन थालेको छ ।
उक्त सुविधा प्रदान गरेसँगै पाँच जनाले निःशुल्करूपमा नक्सा पास गराइ घर निर्माण गरिहेको नगरपालिकाले जनाएको छ । नागरिकको आर्थिक समस्यालाई मध्यनजर गर्दै केही सहज बनाउन लागिएको नगरपालिका घर नक्सा निर्माण शाखाका सहायक इञ्जिनियर सञ्जय तिमिल्सेनाले जानकारी दिए ।
नागरिकलाई पक्की घर बनाउन आकर्षित गर्ने उद्देश्यले घर बनाउँदा निःशुल्क रुपमा नक्सा निर्माण गरिदिने व्यवस्था छ । निःशुल्क नक्सा कार्यक्रमअन्तर्गत वडामार्फत विपन्नवर्गले घर बनाउन सिफारिस लिएर आए निःशुल्क रुपमा नक्सा निर्माण गरिदिने गरिएको तिमिल्सेनाले बताए ।
वडामार्फत विपन्न वर्गले सिफारिस लिएर आएपछि हामीले उनीहरुले चाहेको अनुसार नक्सा निःशुल्क रुपमा बनाउने गरेका छौँ । तिमिल्सेनाले भने, ‘दुई,तीन र चार कोठे घरका लागि विभिन्न आठ किसिमका मोडल रहेको छ ।’
कतिपय नागरिकले नक्सा बनाउन खर्च धेरै लाग्ने भएका कारण कच्ची घरमै बस्नुपर्ने बाध्यता अन्त्य गर्न पनि नगरपालिकाले नक्सा निर्माण निःशुल्क गरेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।
विभिन्न कन्सलटेन्सीले महंगो शुल्कमा घरको डिजाइन बनाइदिने गुनासो आएपछि नगरपालिकाले विपन्न वर्गका व्यक्तिका घरको नक्सा डिजाइन निःशुल्क गरिदिने गरेको उनको भनाइ थियो ।
घर नक्सा शाखा प्रमुख अमित केसीले घरको नक्सा निर्माणका लागि आर्किटेक इञ्जिनियरलाई खटाइएको जनाए । पक्की घर निर्माणले नगरवासीलाई सुरक्षित बनाउनेछ । शाखा प्रमुख केसीले भने, ‘विपन्न व्यक्तिले पक्की घर बनाउन चाहेमा घरनक्सा निःशुल्क निर्माण गरिदिने गरेका छौँ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij